• १३ असोज २०८१, आइतबार

लागू भएन स्थानीय पाठ्यक्रम

blog

जयकृष्ण यादव  

इनरुवा, वैशाख २२ गते । इनरुवा नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाइ अझै सुरु भएको छैन्। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी इनरुवा नपाले तीन वर्षदेखि नगरभरिका विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने प्रयास गरेको भए पनि कार्यान्वयनमा नआउँदा स्थानीय पाठ्यक्रमको पढाइ अझै सुरु हुन नसकेको हो।

केन्द्रीय पाठयक्रम विकास केन्द्रले तयार गरेको व्यवस्थाअनुसार आधारभूत तहको कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम तयार पारी लागू गर्ने प्रयास गरेको र त्यसका लागि १९ लाख रुपियाँभन्दा बढी खर्च गर्दासमेत पुस्तक तयार नभएपछि पढाइमा ढिलाइ भएको हो। 

त्रिभुवन माविका प्रधानाध्यापक राजेश्वरप्रसाद साहका अनुसार दुई वर्षदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने प्रचारप्रसार र मिडियाबाजी भए पनि हालसम्म पाठ्यक्रम र पुस्तक नदिएकाले अन्दाजकै भरमा पढाउनु परेको छ। एउटा विषय स्थानीय लागू गर्ने भनिएकोमा २०७९ मा आफ्नै मनले प्रश्न बनाएर र शिक्षकको बलबुँताले भ्याएअनुसार पढाइ हुँदैआएको छ। 

भगवती माविका शिक्षक एवं नेपाल शिक्षक सङ्घका सुनसरीका अध्यक्ष बेनु सिग्देलले विद्यालयमा हालसम्म स्थानीय पाठ्यक्रम र पुस्तक नआएकाले पढाउन समस्या भएको बताउनुभयो। नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले कक्षा १ देखि ८ सम्म सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रमको विकास गरी लागू गर्न सकिने व्यवस्था गरेको भए पनि इनरुवा नपामा त्यसको कार्यान्वयन नभएकोले विद्यालयहरू अन्योलमा रहेको गुनासो उहाँले गर्नुभयो। सिग्देलले कानुनी व्यवस्थाअनुसार कक्षा १ देखि ५ सम्मको सामाजिक अध्ययन, शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयमा २०/२० प्रतिशत भाग स्थानीय पाठ्यक्रम लागू गर्न सक्ने व्यवस्था छ।  बाँकी ८० प्रतिशत भने पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमका आधारमा अध्ययन अध्यापन गराइनेछ।

सिभिल मिडिया एन्ड रिसर्च सेन्टरले स्थानीय पाठ्यक्रम निर्माण गरी स्वीकृतसमेत गराएर पाठ्यपुस्तक निर्माण गरेर २०७९ कात्तिकमै जिम्मा लगाएको भए पनि  स्थानीय पुस्तक नछापिएकाले समस्या भएको बताइएको छ। सेन्टरका सञ्चालक वीरेन्द्र केएमले आफूहरूले पाएको काम पाठ्यक्रम निर्माण र पुस्तकको प्रतिलिपि  इनरुवा नपालाई हस्तान्तरण गरेकाले छाप्ने काम नगरपालिकाले गर्नुपर्ने प्रतिक्रिया दिनुभयो। 

यता इनरुवा नपाका प्रमुख केदार भण्डारीले स्थानीय पाठ्यक्रम निर्माण भएको तर छपाइ नभएकाले त्यसमा आफू लागिपरेको बताउनुभयो। इनरुवा नगर क्षेत्रमा ३० वटा सामुदायिक विद्यलाय रहेका छन्। स्थानीय पाठ्यक्रम र पुस्तकको अभावमा पढाइ प्रभावित भएको विषयमा विद्यालय व्यवस्थापन समिति महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घका अध्यक्ष जयकृष्ण यादवले तत्काल स्थानीय पाठ्यपुस्तक छापेर विद्यार्थीको हातमा पु-याउन आग्रह गर्नुभयो। पुस्तकको नमुना प्रतिलिपिसमेत नगरपालिकाले पाएको अवस्थामा प्रशासनको काम ढिलाइ गर्नुभनेको बालबालिकामाथि अन्याय गरेसरह भएकाले नगरप्रमुख भण्डारीलाई ध्यानाकर्षण गराएको बताउनुभयो। स्थानीय पाठ्यक्रममा इनरुवाको पहिचान, कला, संस्कृति र सम्पदा, इतिहास, स्थानीय सीप र प्रविधि, स्थानीय पर्यटन र स्थानीय खेलका विषय समावेश छन्।