• २८ वैशाख २०८१, शुक्रबार

सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव छ : सञ्चारमन्त्री शर्मा

blog

काठमाडौं, वैशाख १९ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना तथा प्रविधिको प्रयोगबाट सुशासन र समृद्धि सम्भव भएको बताउनुभएको छ । आज छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देश मार्फत यस्तो बताउनुभएको हो । 

सुरक्षित सूचना प्रविधि: सुशासन र समृद्धि भन्ने मूल नाराका साथ मनाउन थालिएको यस दिवसको अवसरमा उहाँले सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्नुहुने सबैमा धन्यवाद ज्ञापन समेत गर्नुभएको छ । सूचना प्रविधिको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको उहाँले बताउनुभएको छ । छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले राज्यले नागरिकलाई उपलब्ध गराउने सेवा सूचना प्रविधिमैत्री हुँदै गइरहेका जनाउनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्रगतिमा भइरहेको उल्लेख गर्दै उहाँले सूचना प्रविधि अब मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यकीय माध्यमका रूपमा स्थापित हुन पुगेको बताउनुभएको छ ।

सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो हुनुका साथै लागत कटौतीमा मद्दत पुगेको जनाउँदै उहाँले नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यकीय सेवा, अनलाइनमार्फत घरैबाटै पाउनसक्ने अवस्थाको सिर्जना भएको बताउनुभएको छ ।

 सूचना प्रविधिलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको उहाँको भनाइ छ । मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै यसको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक भइसकेको जनाउनुभएको छ ।

केही समयअघि सरकारी सर्भरहरूमा समस्या देखिनुका साथै साइबर सुरक्षामा चुनौती देखिएपछि सरकारले उच्चस्तरीय कार्यदल नै गठन गरेर अध्ययन प्रक्रिया अघि बढाएको जानकारी दिँदै उहाँले कार्यदलले दिएको प्रतिवेदनलाई समेत आत्मसात गर्दै साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाका लागि अध्ययन कार्य अगाडि बढाइसकेको बताउनुभयो ।

साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ छ । सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्ने भन्दै उहाँले तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि समयसापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेमवर्क, २०७६ जारी गरी कार्यान्वयनमा ल्याइएको बताउनुभयो ।

 दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर विस्तार गरिएको उल्लेख गर्दै मन्त्री शर्माले सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पुर्याउने गरी कार्यक्रम सञ्चालन भइरहेको जनाउनुभयो । “यसलाई दिगो र भरपर्दो बनाउन सके इन्टरनेट प्रयोगबाट आम जनताले अपेक्षित लाभ प्राप्त गर्ने विश्वास लिइएको छ”, उहाँले भन्नुभएको छ ।

विस्तृतमा शुभकामना सन्देश:

छैटौँ सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यूले जारी गरेको शुभकामना सन्देश

सुरक्षित सूचना प्रविधि: सुशासन र समृद्धि भन्ने मूल नाराका साथ मनाउन थालिएको छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८० को अवसरमा सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा सञ्चार तथा सूचना प्रविधिको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्नुहुने सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ । राज्यले नागरिकलाई उपलब्ध गराउने सेवाहरू सूचना प्रविधिमैत्री हुँदै गइरहेका छन् । सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमको रूपमा स्थापित हुन पुगेको छ । यसको प्रयोगबाट आम नागरिकको जीवनमा गुणात्मक परिवर्तन आइरहेको छ । सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो हुनुको साथै लागत कटौतीमा मद्दत पुगेको छ । नागरिकले आर्थिक कारोबारसहित अत्यावश्यकीय सेवा, अनलाइनमार्फत घरैबाटै पाउन सक्ने अवस्थाको सिर्जना भएको छ । यसलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व बन्न पुगेको छ ।  

सञ्चार तथा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै यसको सुरक्षित प्रयोगका लागि नागरिक र सरकार सजग हुन आवश्यक भइसकेको छ । केही समयअघि सरकारी सर्भरहरूमा समस्या देखिनुका साथै साइबर सुरक्षामा चुनौती देखिएपछि सरकारले उच्चस्तरीय कार्यदल नै गठन गरेर अध्ययन प्रक्रिया अघि बढाएको थियो । सो कार्यदलले दिएको प्रतिवेदनलाई समेत आत्मसात् गर्दै साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाको लागि अध्ययन कार्य अगाडि बढाइसकेको छ । त्यसका साथै साइबर सुरक्षासम्बन्धी नीति र कानुन निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । 

सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट नै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ भन्ने कुरामा सरकार दृढ विश्वास राख्दछ । तीव्र विकास र उच्च आर्थिक वृद्धिका लागि समय सापेक्ष सूचना प्रविधिको उपयोग गरी आर्थिक तथा सामाजिक क्षेत्रमा रूपान्तरण गर्ने विश्वासका साथ डिजिटल नेपाल फ्रेम वर्क २०७६ जारी गरी कार्यान्वयनमा ल्याइएको छ । दूरसञ्चार सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन फोरजी सेवा देशभर विस्तार गरिएको छ । सबै स्थानीय तहसम्म ब्रोडब्याण्ड सेवा पुर्‍याउने गरी कार्यक्रम सञ्चालन भइरहेको छ । यसलाई दिगो र भरपर्दो बनाउन सके इन्टरनेट प्रयोगबाट आम जनताले अपेक्षित लाभ प्राप्त गर्ने विश्वास लिइएको छ । 

अन्त्यमा, सुरक्षित सूचना प्रविधिको प्रयोगबाट नै सुशासन र समृद्धि ल्याउने कार्यमा ठोस योगदान गर्न सबैमा अपिल गर्दछु ।  

१९ वैशाख, २०८०

रेखा शर्मा

मन्त्री