• १२ असार २०८१, बुधबार

बढ्यो चिकित्सकको शुल्क

blog

काठमाडौँ, वैशाख १९ गते । चिकित्सकहरूको परामर्श (ओपीडी) शुल्कमा पुनरवलोकन गरिएको छ। जेठ १ गतेदेखि लागू हुनेगरी चिकित्सकहरूको ओपीडी शुल्कमा वृद्धि गरिएको हो। चिकित्सकहरूको योग्यताका आधारमा नयाँ शुल्क पुनरवलोकन गरिएको हो। स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले दुई वर्षअगाडि नै मन्त्रालयले चिकित्सक सङ्घलाई दुई–दुई वर्षमा शुल्क पुनरवलोकन हुनेगरी सहमति दिइसकेको बताउनुभयो। नेपाल चिकित्सक सङ्घ र निजी अस्पतालहरूको सङ्गठन (अफिन)को संयुक्त बैठकले शुल्क पुनरवलोकन गरी बढाउने निर्णय गरेको हो। 

पुनरवलोकन गरिएको नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस चिकित्सकले ४२० रुपियाँ लिन पाउनेछन्। यस्तै पाँच वर्षभन्दा माथिकाले ५१५ रुपियाँ ओपीडी शुल्क लिन पाउनेछन्। एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका डाक्टरले पाँच वर्षभन्दा कम अनुभव भएकाले ५९० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ६७० रुपियाँ शुल्क लिन पाउनेछन्। 

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. अनिलविक्रम कार्कीले नेपाल चिकित्सक सङ्घ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को बैठकले चिकित्सकहरूको ओपीडी शुल्क बढाउने निर्णय गरेको जानकारी दिनुभयो। 

स्वास्थ्य मन्त्रालय तथा सरोकारवालाको परामर्शका आधारमा नयाँ शुल्क तोकिएको उहाँको भनाइ छ। ओपीडीमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ४२० देखि ९४० सम्म शुल्क लिन पाउनेगरी निर्णय भएको छ। नयाँ शुल्कअनुसार डीमए तथा एमसीएच गरेका डाक्टरका हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ८८० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ९४० रुपियाँ लिन पाउने भएका छन्।

एमडी/एमएस र एमडीएस डाक्टरका हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८०० रुपियाँ लिन पाउने भएका छन्। यस्तै १० वर्षभन्दा बढी अनुभव भएका एमडी/एमएस र एमडीएस डाक्टरको ओपीडी शुल्क ९४० रुपियाँ तोकिएको छ।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।