• १२ फागुन २०८२, मङ्गलबार

धादिङ बस दुर्घटना : घाइते हुनेमा घुम्न गएकादेखि विदेश जानेसम्म

blog

काठमाडौँ, फागुन १२ गते । पोखराबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक बस धादिङमा आइतबार राति दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।  २५ जना घाइते भएका छन् । घाइतेको उपचार महाबौद्धस्थित राष्ट्रिय ट्रमा सेन्टर, नेसनल अस्पताल कलङ्की र त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भइरहेको छ । 

अस्पतालमा उपचार गराइरहेकामध्ये केहीको अवस्था गम्भीर छ भने केहीको टाउको, खुट्टा, ढाड, अनुहारमा चोट लागेको छ ।  पोखराबाट काठमाडौँतर्फ आँउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुवाहक बस धादिङ, बेनीघाट रोराङ गाउँपालिका–५, भैँसेडाँडामा दुर्घटना भएको हो ।

घाइते हुनुभएकी आङ्जी शेर्पा चालकभन्दा पछाडिको सिटमा हुनुहुन्थ्यो । ४८ वर्षीय शेर्पा पोखराबाट काठमाडौँ आउँदै हुनुहुन्थ्यो । उहाँको टाउको, घाँटी, अनुहारमा चोट लागेको छ । चालकको सामान्य लापर्बाहीले गर्दा दुर्घटना भएको उहाँको भनाइ छ । 

दुर्घटनाका १६ घाइतेलाई उपचारका लागि ट्रमा सेन्टर ल्याइएकोमा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुद्र मरासिनीले १६ जना अस्पतालमा ल्याएकामध्ये एक जनाको अस्पताल आउँदा मृत्यु भइसकेको जानकारी दिनुभयो । उहाँले उपचारका लागि आएकोमा दुई जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको तथा हाल १३ जनाको उपचार भइरहेको बताउनुभयो । “कतिलाई शल्यक्रिया गर्नुपर्ने छ,” मरासिनीले भन्नुभयो, “केही घाइतेको टाउको, ढाड, कम्मर र अनुहारमा चोट लागेको छ ।”

अर्का घाइते मनबहादुर थापाले मुग्लिङमा खाना खुवाएर गाडी अगाडि बढेको बताउनुभयो । “चालकले राम्रैसँग बस चलाएको थियो, एक्कासि गाडी दुर्घटना हुन पुग्यो । म पछाडि बसेको थिएँ,” थापाले भन्नुभयो, “गाडी पल्टिने बेलामा मात्र ब्युझिएँ ।” “खोलाको किनारामा गएर बजारिएछु, बस पल्टिसकेपछि बेहोस जस्तै भएँ ।”

थापाको सोमबार बिहान ९ बजे कुबेत जाने टिकट थियो । “अब कुबेत जान नपाउने भएँ,” थापाले गुनासो गर्नुभयो ।  अर्का घाइते सोमकुमार मल्ल तनहुँबाट गाडी चढ्नुभएको थियो । उहाँ १८ वर्षीय छोरा सुविन मल्ललाई विदेश अध्ययन गर्नका लागि प्रक्रियाका लागि काठमाडौँ आउँदै हुनुहुन्थ्यो । 

उहाँको टाउको, बायाँ हातमा चोटपटक लागेको छ । यस्तै अर्की घाइते सदीक्षा हमाल पोखराबाट काठमाडौँ आउनुभएको थियो । उहाँले चालकले घुम्तीमा लापर्बाही गरेको कारण दुर्घटना भएको जानकारी दिनुभयो । उहाँले दुर्घटना हुनुपर्ने जस्तो ठाउँ नभए पनि एक्कासि बस दुर्घटना हुनुमा चालकको लापर्बाही भएको बताउनुभयो । उहाँको टाउको र खुट्टामा चोट लागेको छ । 

यसैबिच गृहमन्त्री ओमप्रकाश अर्याल धादिङ बस दुर्घटनाका घाइते भेट्न राष्ट्रिय ट्रमा सेन्टर र नेसनल अस्पताल जानुभएको छ । सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट मरासिनीले गृहमन्त्री अर्याल अस्पताल आएर घाइतेको स्थास्थ्य अवस्थाबारे जानकारी लिएको बताउनुभयो । गृहमन्त्रीसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि अस्पताल गएर घाइतेको अवस्थाबारे जानकारी लिनुभएको थियो । 

   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।