काठमाडौँ, फागुन २६ गते । प्रतिनिधि सभा निर्वाचन २०८२ मार्फत चिकित्सा पेसासँग आबद्ध व्यक्ति पनि संसद्मा पुग्ने हुने भएका छन् । विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका चिकित्सा पेसासँग आबद्ध व्यक्ति निर्वाचित भएका हुन् ।
रुपन्देही क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजङ्ग थापाले ५८ हजार ८१४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँ वरिष्ठ न्युरोलोजिस्ट हुनुहुन्छ ।
डा. थापाले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतले पछि पार्दै विजयी हुनुभएको हो । डा. थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुरुङले आठ हजार ४३५ मत ल्याउनुभएको छ । तेस्रोमा एमालेका वासुदेव घिमिरेले आठ हजार २७५ मत प्राप्त गर्नुभयो । भैरहवाका डा. थापा अभियन्ता र सामाजिक व्यक्तित्वका रूपमा समेत परिचित हुनुहुन्छ । नेपाली न्युरो साइन्सको विकास र बिरामीको उपचारमा उहाँले १६ वर्षभन्दा बढी समय बिताउनुभएको छ । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबिबिएस, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डिएम न्युरोलोजी अध्ययन गर्नुभएका डा. थापा अमेरिकाको हार्वर्ड विश्वविद्यालयको ‘सेफ्टी क्वालिटी लिडरसिप एन्ड इन्फर्मेटिभ’ का ग्राजुएट्स हुनुहुन्छ । यसै गरी कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. आनन्दबहादुर चन्द विजयी हुनुभएको छ । उहाँ जनस्वास्थ्यको क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
डा. चन्दले कुल ३१ हजार ९५३ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँ एक्सन नेपालमा आबद्ध भएर विशेष गरी सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नसर्ने रोगविरुद्ध काम गर्दै आउनुभएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीमा उहाँले विद्यावारिधि (पिएचडी) अध्ययनसमेत गर्नुभएको छ । शिक्षा तथा अनुसन्धान क्षेत्रसँगै उहाँ विभिन्न सरकारी तथा संस्थागत जिम्मेवारीमा पनि सक्रिय हुनुहुन्छ । चन्दले नेपाल सरकार अन्तर्गतको नेपाल खाद्य संस्थानको सञ्चालक समितिको अध्यक्षका रूपमा काम गरिसक्नुभएको छ । उहाँले बिपी कोइराला मेमोरियल प्लानेटेरियम, अब्जर्भेटरी एन्ड साइन्स म्युजियमका कार्यकारी निर्देशकका रूपमा पनि जिम्मेवारी समाल्नुभएको छ ।
यसै गरी प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. शम्भु यादव विजयी हुनुभएको छ । यादवले ३२ हजार २४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का सांसद लीलानाथ श्रेष्ठले १० हजार १५६ मत प्राप्त गर्नुभयो । उहाँले २०६७ सालमा एमबिबिएस उत्तीर्ण गरेपछि काठमाडौँस्थित बी एन्ड बी अस्पतालमा दुई वर्ष तथा किस्ट कलेजमा एक वर्ष सेवा गर्नुभएको थियो । हाल उहाँले सिराहाको मिर्चैया नगरपालिकाका मिर्चैया हेल्थ पोलिक्लिनिकमार्फत स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको छ ।
यसै गरी दृष्टि विशेषज्ञ दीपककुमार साह महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । साहले ३२ हजार ७२० मत ल्याई विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किरण यादवले नौ हजार ९६२ मत प्राप्त गर्नुभयो । उहाँ नेपाल दृष्टि विशेषज्ञ सङ्घको केन्द्रीय अध्यक्षसमेत हुनुहुन्छ ।