काठमाडौँ, फागुन १७ गते । नेपालीहरूको रङ्गीन पर्व फागु (होली) मा प्राकृतिक रङ प्रयोग गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । यो पर्वमा खेलिने रङको सही प्रयोग नगर्दा स्वास्थ्यमा समस्या देखिने गरेको छ ।
त्रिगुणा लामालाई गत वर्ष कलेजमा होली खेल्दा साथीहरूले मिसावटयुक्त रङको प्रयोग गर्दा अस्पताल जानु परेको थियो । होली खेल्दा रङ लगाएको केही घण्टापछि उहाँको शरीरमा फोका आउन सुरु ग¥यो । ती फोका चिलाउने, पोल्ने र फुट्ने गर्दा झनै पीडादायी भयो । दुई दिनसम्म पनि ठिक नभएपछि उहाँले विशेषज्ञ चिकित्सककहाँ गएर उपचार गराउनुभएको थियो । त्रिगुणाको मात्र समस्या होइन, होलीमा धेरै मानिसले सही रङको प्रयोग नगर्दा समस्या हुने गरेको छ । बजारमा पाइने रङको गुणस्तर र त्यसले पार्ने स्वास्थ्य असरबारे धेरैलाई जानकारी नहुँदा छालासम्बन्धी रोग बढिरहेको छ ।
वरिष्ठ छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णले प्रत्येक वर्ष होलीपछाडि एलर्जीको समस्या लिएर मानिसहरू उपचारमा आउने गरेको अनुभव सुनाउनुभयो । डा. कर्णले अनुहारमा डाबर देखिने, चिलाउने, पोल्ने, रङ राम्रोसँग नपखालिने, आँखामा समेत असर गरेर मानिसहरू चिकित्सककहाँ जाने गरेको बताउनुभयो । होलीपछाडिको केही दिन रङको असरले गर्दा समस्यामा पारेका मानिसहरू अस्पताल आउने गरेको स्मरण गर्दै डा. कर्णले पूर्वतयारी गरेर मात्र होली खेल्नु उचित हुने बताउनुभयो । डा. कर्णले सिसा (लिड) मिसावटयुक्त रङका कारण एलर्जी, डर्माटाइटिस र आँखासम्बन्धी समस्या बढ्दै गएको बताउनुभयो ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रले हालै सार्वजनिक गरेको परीक्षण प्रतिवेदन अनुसार बजारबाट सङ्कलित नमुनामध्ये करिब ६० प्रतिशत रङमा बढी सिसा भेटिएको थियो । केही नमुनामा ४,००० देखि ५,००० पिपिएमसम्म सिसाको मात्रा पाइएको उल्लेख छ, जुन स्वीकृत मापदण्डभन्दा बढी हो ।
वरिष्ठ छाला रोग विशेषज्ञ कर्णका अनुसार पछिल्लो समय होलीपछि छालामा एलर्जीका बिरामी उल्लेख्य रूपमा बढेका छन् । सस्तो र मिसावटयुक्त रङमा सिसा, क्रोमियम, कपर जस्ता भारी धातु मिसाइने भएकाले छालामा जलन, चिलाउने, सुन्निने र घाउसमेत हुने गर्दछ ।
डा. कर्णका अनुसार एलर्जी हुने व्यक्तिले सावधानी अपनाएर सुरक्षित रूपमा होली खेल्न सकिने बताउनुभयो । प्राकृतिक वा सिसा नभएको भनेर प्रमाणित रङ प्रयोग गर्नु पर्छ, “उहाँले भन्नुभयो, “रङ लगाइसकेपछि एकदेखि दुई घण्टाभित्रै सफा पानीले पखाल्नु उत्तम हुन्छ । धेरैबेर छालामा रङ रहँदा रासायनिक तत्वले प्रतिक्रिया गर्ने सम्भावना बढ्छ ।” डा. कर्णका अनुसार होली खेल्नुभन्दा अघिल्लो दिन वा कम्तीमा दुई–तीन घण्टा अगाडि शरीरमा नरिवलको तेल, सनस्व्रिmन र मस्टराइज प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले छालामा सुरक्षात्मक तह बनाउने भएकाले रङ प्रत्यक्ष छालाभित्र प्रवेश गर्न कठिन हुन्छ । “रङ लगाइसकेपछि पखाल्न झन् समस्या हुन्छ, त्यसैले सुरुदेखि नै सावधानी अपनाउनु जरुरी छ,” उहाँले भन्नुभयो, “मिसावट गरेको रङ सामान्य व्यक्तिले पनि नलगाए राम्रो हुन्छ ।”
यौन तथा छाला रोग विशेषज्ञ अनुप बाँस्तोलाले होलीका नाममा जथाभाबी मिसावटयुक्त रङ प्रयोग नगर्न सुझाव दिँदै त्यस्तो रङ आँखामा परेमा आँखाको एलर्जी हुने बताउनुभयो । जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्रका अनुसार परीक्षण गरिएका केही रङमा पाइएको ५०० पिपिएमसम्मको सिसा मात्रा मानव स्वास्थ्यका लागि गम्भीर जोखिमयुक्त मानिन्छ । सिसा छालाबाट सीमित मात्रामा सोसिए पनि हातमुख हुँदै पेटमा पुगेमा वा घाउ भएको भागबाट शरीरभित्र प्रवेश गरेमा विषाक्त असर गर्न सक्छ । बालबालिकाले खेल्दै गर्दा हात मुखमा हाल्ने भएकाले जोखिम अझ बढ्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले होलीमा प्रयोग हुने रङ शुद्ध र प्राकृतिक किसिमको हुनुपर्ने बताउनुभयो । “बजारमा पाइने सबै रङ सुरक्षित हुँदैनन् । त्यसैले उपभोक्ताले सजगता अपनाउनु पर्छ,” डा. बुढाथोकीले भन्नुभयो । डा. कर्णले प्रमाणित र मिति भएको रङ मात्र प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले प्राकृतिक रङलाई प्राथमिकता दिँदै रङ लगाइसकेपछि एक/दुई घण्टाभित्रै सफा पानीले पखाल्ने, छालामा समस्या देखिएमा घरेलु उपचारमा नअड्किएर चिकित्सकको सल्लाह लिन सुझाव दिनुभयो । उहाँले आकर्षक प्याकेटमा बिक्री भइरहेका रङमध्ये कतिपय औद्योगिक प्रयोजनका लागि उत्पादन गरिएका रसायन हुन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिनुभयो ।
प्याकेटमा उत्पादक कम्पनी, उत्पादन मिति, सामग्री विवरण र मापदण्ड उल्लेख नभएको रङ प्रयोग नगर्न आग्रह गर्नुभयो । असुरक्षित र मिसावटयुक्त रङले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने चेतावनी दिनुभयो ।