काठमाडौँ, वैशाख १८ गते । बिहेको मौसम सुरु हुनै लाग्दा धेरैलाई नृत्यप्रति आकर्षण बढेको छ । त्यसो त सामान्य कम्मर मर्काएर नाच्नेको जमात सानो छैन । बालबालिकादेखि वृद्धवृद्धासम्मले कम्मर मर्काई मर्काई नाचेको हामीले देखेका छौँ । अहिले सामाजिक सञ्चालको बढ्दो प्रभावसँगै मानिसमा प्रशिक्षण लिएरै नृत्य गर्नुपर्छ भन्ने सोचसमेत बढ्दै गएको देख्न पाइन्छ । त्यसैले होला, यति बेला मानिसहरू नृत्यका लागि प्रशिक्षण केन्द्र धाउन थालेका छन् ।
चाबहिलकी राधिका अर्याल नृत्य सिक्न मध्य बानेश्वरको सम्झना नृत्य प्रशिक्षण केन्द्र पुग्नुहुन्छ । ‘नाच्न नजान्दा तनाव हुन्छ,” उहाँ भन्नुहुन्छ, “क्याम्पसको कार्यक्रम होस् वा विवाहको पार्टी; अरूले नाचेको देखेर आफूलाई पनि नाचौँ–नाचौँ लाग्छ तर अरूजस्तो नाच्न सक्दिनँ भनेर सङ्कोच लाग्छ । त्यसैले अहिले नृत्य केन्द्रमा प्रशिक्षण लिँदै छु ।” सम्झना नृत्य प्रशिक्षण केन्द्र आउनेमध्ये ७० प्रतिशतको लक्ष्य नृत्यमै भविष्य बनाउने खालको नभएको सञ्चालक रोशन तामाङ बताउनुहुन्छ ।
नाच्न नजान्दा पार्टी र अन्य कार्यक्रममा जान लाज लाग्यो, लौ न यसो हल्लिन सिकाइदिनु प-यो भन्नेहरू अहिले धेरै बढेका उहाँको अनुभव छ । किशोर–किशोरीदेखि ७० वर्षसम्मका आफूकहाँ नृत्य सिक्न आउने गरेको उहाँले बताउनुभयो । पहिला–पहिला पार्टीमा खुट्टा अघि बढाउने थोरै मात्र हुन्थे । अहिले खुल्दै गरेको समाज र सञ्चारमाध्यमको तीव्र विकासले नृत्यलाई बुझ्ने धारणा बदलिएको छ । अब ‘सोसल’ हुन पनि नाच्न जान्नुपर्छ । आफूलाई यो परिवर्तनको साक्षी ठान्नुहुन्छ नृत्य निर्देशक कविराज गहतराज । नाच्नु एउटा कला हो । शरीर हल्लाउनु र मर्काउनु नृत्य नै हो । गहतराज भन्नुहुन्छ, “अब कुनै पनि सार्वजनिक कार्यक्रम नृत्यबाट अछुतो छैन ।”
कुनै जमानामा आफ्नो साथीको बिहेमा कम्मर मर्काई मर्काई नाचेको क्षण ताजै रहेको गायक युवराज चौलागाईं सम्झिनुहुन्छ । नृत्यले पार्टीलाई थप आन्नदित र सम्झनलायक बनाउने उहाँको ठम्याइ छ । अहिले नृत्य एउटा आवश्यकता नै बनिसकेको छ । “कतै नृत्यको कार्यक्रम छ भने कम्मर हल्लाउनेको सङ्ख्या गनिसाध्य हुँदैन । बालबालिकादेखि वृद्धवृद्धाको ठूलो जमात देख्न सकिन्छ,” उहाँ भन्नुहुन्छ, “अहिलेका मान्छेमा नाच्न जान्नुपर्छ भन्ने सोच बढेको छ ।” नृत्यको सम्बन्ध स्वास्थ्यसँग पनि जोडिएको छ । डिल्लीबजारको हेल्थी डान्स सेन्टरमा नृत्यको प्रशिक्षण लिइरहनुभएका नारायण शर्मालाई ‘नाच्न जान्ने’ हुनु छ, साथै मोटोपन पनि घटाउनु छ । “मैले डान्स सेन्टरबाट दुई किसिमको फाइदा लिइरहेको छु,” उहाँले भन्नुभयो ।
पछिल्लो समय मोडल, कलाकार र युवकयुवती मात्र होइन; व्यवसायी, गृहिणी, वृद्धवृद्धा, जागिरे र उद्यमीलाई समेत नृत्यको मोहले तानेको छ । राजधानीको साधना कला केन्द्रले मासिक एक सयदेखि डेढ सय जनालाई नृत्य सिकाउँछ । केन्द्रमा पाँच वर्षदेखि ६० वर्षसम्मका मानिस नृत्य सिक्न आउने केन्द्रका प्रबन्ध निर्देशक मिलन मोक्तान बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीकहाँ सबै किसिमका नृत्य सिक्न आउँछन् । कोही आफ्नो सोखका लागि, कोही पार्टी र उत्सवमा नाच्नका लागि ।” अहिले व्यावसायिकभन्दा पार्टीहरूमा नाच्नका लागि नृत्य सिक्न आउनेको सङ्ख्या धेरै देखिन्छ । शास्त्रीय, साल्सा, वल, हिपहप बलिउड, बी–बोइङ लोकलगायत नृत्य मुख्य गरेर काठमाडौँका नृत्य प्रशिक्षण केन्द्रमा सिकाइने नाच हुन् ।