• ४ जेठ २०८१, शुक्रबार

बार्सिलोना र रियलको एकपक्षीय जित

blog

गोल गरेपछि खुसी मनाउँदै बार्सिलोनाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख १७ गते । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना र रियल म्याड्रिडले एकपक्षीय जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको रियल बेटिसलाई ४-० गोलले हरायो । अर्को खेलमा रियलले अल्मेरियालाई ४-२ गोलले स्तब्ध बनायो । 


बार्सिलोनाको जितमा आन्द्रेस क्रिस्टेन्सनले १४औँ, रोबर्ट लेवान्डोस्कीले ३६औँ र राफिन्हाले ३९औँ मिनेटमा गोल गर्नुभयो । बार्सिलोनाले अर्को गोल बेटिसका गुइडो रोड्रिग्वेजबाट ८२औँ मिनेटमा आत्मघाती उपहार पाएको थियो ।

यसै खेलबाट १५ वर्षीय स्ट्राइकर लमाइन यमलले ला लिगामा बार्सिलोनाबाट कम उमेरमा खेल्ने खेलाडीको कीर्तिमान बनाउनुभएको छ । उहाँ १५ वर्ष २९० दिनको हुनुहुन्छ ।

खेलभर बार्सिलोनाको दबाब झेलेको बेटिसको गोल फर्काउने प्रयास सफल बन्न सकेन । ३३औँ मिनेटमा एडगर गोन्जालेस दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएपछि बेटिस १० खेलाडीमा समेटिएको थियो । जसको फाइदा रियलले भरपुर उठायो ।

जितसँगै बार्सिलोना उपाधिको नजिक पुगेको छ । शीर्षस्थानमा रहेको बार्सिलोनाको ३२ खेलबाट ७९ अङ्क छ । दोस्रो स्थानमा रहेको रियलको ६८ अङ्क छ । पराजित रियल बेटिस ४९ अङ्कसहित छैटौँ स्थानमा छ ।


घरेलु मैदानमा शनिबार राति नै भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले ह्याट्रिक गर्नुभयो । अर्को गोल रोड्रिगोले थप्नुभयो । अल्मेरियाका लजारो र लुकास रोबर्टोन सान्त्वना गोल फर्काउनुभयो ।

रियलसँग पराजित अल्मेरिया ३३ अङ्कसहित १५औँ स्थानमा छ । अर्को खेलमा इल्चेले १० खेलाडीमा समेटिएको रायो भालेकानोलाई ४-० गोलले हराएको छ । एजेन्सी