अमरराज नहर्की
तनहुँ, चैत २ गते । तनहुँको सदरमुकाम दमौलीसहित जिल्लाभरि खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि स्थानीय प्रशासन र पालिकाहरूले बजार अनुगमनलाई तीव्र बनाएका छन्। उपभोक्ताबाट कृत्रिम अभाव र कालोबजारी भएको गुनासो बढेपछि व्यास र शुक्लागण्डकी नगरपालिकाले ग्यास डिपोहरूको आकस्मिक अनुगमन सुरु गरेका हुन्।
व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै र शुक्लागण्डकी नगरपालिकाका राजस्व शाखा प्रमुख रामचन्द्र सुवेदीको नेतृत्वमा जनप्रतिनिधि र प्रहरीसहितको टोलीले विभिन्न डिपोमा पुगेर मौज्दात सिलिन्डरको तथ्यांक सङ्कलन गरेको छ। अनुगमनका क्रममा टोलीले ग्यास लैजाने उपभोक्ताको स्पष्ट विवरण राख्न र अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न डिपो सञ्चालकहरूलाई निर्देशन दिएको छ।
अनुगमनका क्रममा डिपो सञ्चालकहरूले भने आपूर्तिमा कटौती आएकाले माग धान्न कठिन भएको बताएका छन्।
ग्यासको अभाव हुँदा पनि सरोकारवाला निकाय सक्रिय नभएको भन्दै दमौलीका सामाजिक अभियन्ताहरूले प्रशासन चोकमा रित्तो सिलिन्डर प्रदर्शन गरी सांकेतिक विरोध जनाएका छन्। अभियन्ता महम्मद गफ्फार, सुदीप र सुन्दर प्रजापतिले जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठलाई रित्तो सिलिन्डर हस्तान्तरण गर्दै समस्या समाधान गर्न दबाब दिएका छन्।
नेपाल आयल निगमले ग्यासको अभाव नरहेको दाबी गरे पनि उपभोक्ताले रित्तो हात फर्किनुपरेको उनीहरूको गुनासो छ।
शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले आइतबार विज्ञप्ति जारी गर्दै ग्यासको बिक्री–वितरण व्यवस्थित गर्न व्यवसायी र उपभोक्ता दुवैलाई सहयोग गर्न अपिल गर्नुभएको छ। अनुगमनका क्रममा ग्यास सिलिन्डर लुकाएको वा बढी मूल्य लिएको पाइएमा कानुनबमोजिम कडा कारबाही गरिने उहाँले चेतावनी दिनुभएको छ। नगरप्रमुख पण्डितले ग्यासको विकल्पका रूपमा विद्युत् प्रयोग बढाउन पनि आग्रह गर्नुभएको छ।
तनहुँ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले मागको तुलनामा आपूर्ति कम भएकाले व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले ग्यास अभावको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै आपूर्ति सहज बनाउन पहल भइरहेको र व्यापारीलाई ग्यास नलुकाउन कडा निर्देशन दिइसकिएको जानकारी दिनुभयो।