• १३ साउन २०८१, आइतबार

एकतीस देशसँग व्यापार नाफामा

blog

काठमाडौँ, वैशाख १७ गते  । नेपालले वैदेशिक व्यापार गर्ने विभिन्न १६३ मुलुकमध्ये ३१ वटा देशसँग व्यापार नाफामा रहेको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा (साउन–चैत) ३१ देशमा व्यापार नाफामा र बाँकी १३२ देशसँग व्यापार घाटा रहेका छन् । नौ महिनाको अवधिमा व्यापार नाफा भएका देशमा नेपालबाट ११ अर्ब ५८ करोड ३० लाख सात हजार रुपियाँको सामान निर्यात भएको र ४२ करोड २८ लाख ५५ हजार रुपियाँको सामान आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । 

व्यापार नाफा रहेका देशमा अफगानिस्तान, अल्जेरिया, एङ्गोला, अर्मेनिया, अजरबैजान, बहराइन, बोलिभिया रहेका छन् । यस्तै कङ्गो, फिजी, इथोपिया, डेनमार्क आइसल्यान्ड, किरजीकिस्थान, माल्दिभ्स, माली, मोनाको, नर्वे, रुवान्डा, उरुग्गे, यमनलगायतका देशसँगको व्यापार नाफामा रहेको छ । 

३८ देशमा निर्यात शून्य

नेपालले १६३ वटा देशसँगै व्यापार गर्ने गरेकामा ३८ वटा देशमा निर्यात शून्य अवस्थामा रहेको छ । ११ हजार रुपियाँदेखि एक अर्ब ९४ करोड ६५ लाख ९० हजार रुपियाँको आयात भएको निर्यात भने शून्य अवस्थामा रहेको हो । 

सातवटा देशबाट आयात शून्य अवस्थामा रहेको विभागको तथ्याङ्क छ । विभागका अनुसार नौ महिनाको अवधिमा सबैभन्दा धेरै छिमेकी मुलुक भारतबाट सात खर्ब ५३ अर्ब ७५ करोड १४ लाख ७२ हजार रुपियाँ बराबरको सामान आयात भएकामा नेपालबाट ८२ अर्ब ९८ करोड ५३ लाख ५४ हजार रुपियाँको सामान निर्यात भएको छ । ठूलो परिणाममा आयात भए पनि निर्यात न्यून हुँदा भारतसँग मात्र छ खर्ब ७० अर्ब ७६ करोड ६१ लाख १८ हजार रुपियाँ व्यापार घाटा रहेको छ । 

यस्तै दोस्रो छिमेकी चीनबाट एक खर्ब ६२ अर्ब ४४ करोड ८४ लाख १७ हजार रुपियाँको आयात भएकामा ६३ करोड ६८ लाख ३२ हजार रुपियाँको निर्यात भएको छ । चीनसँग एक खर्ब ६१ अर्ब ८१ करोड १५ लाख ८५ हजार रुपियाँ व्यापार घाटा रहेको छ । 

यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) पनि नेपालले बढी वैदेशिक व्यापार गर्ने मुलुकका रूपमा देखिएको छ । नौ महिनाको अवधिमा नेपालले यूएईबाट २५ अर्ब ९१ करोड १२ लाख बराबरको वस्तु आयात गर्दा ४२ करोड ७० लाख बराबर मात्रै निर्यात गरेको छ । 

नेपालले अमेरिकाबाट १४ अर्ब ४७ करोड ७५ लाख बराबरको वस्तु आयात गरेको छ भने १३ अर्ब ९० करोड ९५ लाख बराबरको निर्यात गरेको छ ।

साउनदेखि चैतसम्म १२ खर्ब एक अर्ब ५० करोड बराबरको सामान आयात गरेको छ । सो अवधिमा एक खर्ब १८ अर्ब २८ करोड बराबरको निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष समग्र वैदेशिक व्यापार घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्र व्यापार घाटा पनि १८.८९ प्रतिशतले घटेको देखिन्छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.०४ र निर्यातको हिस्सा ८.९६ प्रतिशत रहेको छ ।