• ८ मंसिर २०८१, शनिबार

मुक्तक

blog

मैले जिन्दगीलाई दायाँ–बायाँ, चारैतिर खोजिरहेँ 

जिन्दगी भने एक छलावाझैँ मबाट टाढा भागिरह्यो

मैले ईश्वरको नाममा शपथ खाएर भनिरहेँ म तिम्रै हुँ

अहँ ! जिन्दगीले पत्याएन, मसँग ठोस प्रमाण मागिरह्यो । 


मैले टेकेको दुई पाउ जमिन धसिँदै गए पनि

समयको डोबलाई ब्युँताउने प्रयासमा म लागिरहेँ

मैले रोजेको गन्तव्य धेरै टाढा र अस्पष्ट भए पनि 

म एकलव्यझैँ आफ्नै धूनमा बढ्दै गएँ बढ्दै गएँ ।  


मेरो यात्रा कहाँ पुगेर कहिले टुङ्गिने हो थाहा छैन

कुन क्षण मैले आफैँलाई बिर्सिदिनु पर्ने हो थाहा छैन

बितेका सुखद क्षणले कति साथ दिने हुन् त्यो थाहा छैन

नमिठा पलले पछ्याइरहने हुन् कि सधैँभरि झनै थाहा छैन ।


यति हुँदाहुँदै पनि ए जिन्दगी ! म तँलाई अथक खोजिरहे छु

तँ भाग्दै छस् मबाट म तँलाई छायाँझै अपलक पछ्याइरहे छु 

थाहा छ मलाई यो लुकामारी एकदिन अचानक रोकिने छ अवश्य 

जब मिल्नेछ मलाई प्रभूपादमुनि मलाई पुग्ने जमीनको एउटा टुक्रो !