• ८ मंसिर २०८१, शनिबार

अदृश्य भाव (कविता)

blog

जलमा तरङ्ग नदेखिने

वायुको स्पन्दन जस्तै

चन्द्रमाको शीतल नदेखिने

शून्य आकाश जस्तै

लाग्यो आगो श्यामतामा

कतै भेद नभए जस्तै !

जाग्यो सङ्कल्प  स्वप्न नगरीमा

आत्माको दर्शन जस्तै !


आदर्शको प्रतिविम्ब हुँदैन

द्रष्टा पनि दृश्य बिना रहन्न

आभावको रूपमा अनेकौँ

सूक्ष्म वीजमा स्वरूप बहन्छ

एकपछि दुई अवश्य हुन्न

जब दुवै सममा विलय हुन्छ

उब्जेपछि भ्रम बिना कारण

अकारण भाव शून्य हुन्छ !


उड्दैन धुलो समुन्द्र बिचमा

संसार फुल्दछ हृदयमा

अड्दैन आभास मनमा कत्ति

सर्वदा वन्दनको तìव खुल्दछ

सूक्ष्म दृश्यमा ।


छेकिँदैन सूर्य हातले जसै

छायामा गर्मीको राप थामी सोसिन्छ !

सकिँदैन चित्त बाँधेर कसै

इच्छामा प्रवलताको प्रयास रोकिन्छ ।


क्षितिज पारिको घामसँगै

डाँडामाथिको जूनसँगै

माहासागर माझ

नाउ खियाउने माझीदाइ

पूर्णिमा र औँसीको रात

समुद्रको लहरसँग बाँकटे मार्दै

जीवन डुबुल्की मार्दै उत्रिँदै

नियतिले दिएको  खेल खेल्दै छ ।