• १३ जेठ २०८१, आइतबार

हीरक वर्षको अन्योल

blog

- रामप्रसाद गौतम 

 काठमाडौँ महानगरपालिकाको पूर्वोत्तर क्षेत्रको चाबहिलमा आजभन्दा ७५ वर्षअघि स्थापित पशुपति मित्र माविले २०७९ साल चैत २८ गते आफ्नो ७५औँ जन्मोत्सवलाई हीरक वर्ष भनेर मनायो । विद्यालयले ७५औँ जन्मोत्सव मनाउनु गौरवको विषय हो र यसमा कुनै विवाद रहेन । परन्तु यो हीरक महोत्सव कति वर्षमा मनाउने भन्ने प्रश्न यदाकदा देखिन्छ । 

हीरक वर्ष वा महोत्सवलाई अङ्ग्रेजीमा ‘डायमन्ड जुब्ली’ भनिन्छ । सम्भवतः रजत महोत्सव, रुबि महोत्सव, स्वर्ण महोत्सव, हीरक महोत्सव विभिन्न धातुको नाममा वर्षहरूलाई मनाउने चलन पश्चिमा देशबाट आएको होला । यसमध्ये कुनै निकाय वा सम्बन्ध स्थापनाको २५औँ वर्षलाई सिल्भर इयर, ४०औँ  वर्षलाई रुबि इयर, ५०औँ वर्षलाई गोल्डेन इयर, ७०औँ वर्षलाई प्लेटेनियम इयर, ७५औँ वर्षलाई पेडेलियम इयर भनिन्छ भन्ने कुरा टाइम पत्रिकाको १ जुन २०२२ को अङ्कमा महारानी एलिजावेथको ७०औँ   गद्दी आरोहणको सन्दर्भमा छापिएको छ ।  त्यसैगरी उहाँको गद्दी आरोहणको हीरक महोत्सव सन् २०१२ मा मनाइएको थियो, जुन उहाँको गद्दी आरोहणको ६०औँ वर्षमा प-यो । यस्तै भारतले केही दिनअघि ३ अप्रिल, २०२३ मा सन् १९६३ मा स्थापना भएको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआई)को डायमन्ड जुब्ली मनायो । 

बेलायतकी दिवङ्गत महारानी एलिजावेथ द्वितीय विश्वमा सबैभन्दा लामो समय राज्यसत्तामा रहने व्यक्तित्व हुनुहुन्थ्यो । उहाँको बेलायतमा गद्दी आरोहण सन् १९५२ मा भएको थियो । त्यसको ७० वर्ष १ जुन, २०२२ उहाँको गद्दी आरोहणको प्लेटेनियम वर्ष भनेर भव्यताका साथ मनाइएका दृश्य बीबीसीले प्रसारण गरेको थियो । 

टाइम पत्रिकाकाका अनुसार डायमन्ड जुब्ली भनेको ६०औँ वर्षलाई मानिन्छ । अब के ७५औँ वर्षलाई हीरक महोत्सव भनेर पशुपति मित्र माविले गल्ती ग¥यो कि भन्ने प्रश्न पनि उठेको छ किनकि ७०औँ वर्षलाई प्लेटेनियम र ७५औँ वर्षलाई पेडेलियम वा अमृत वर्षका रूपमा विदेशमा मनाउने गरिएको धेरै प्रमाण छन् । त्यसमा महारानी एलिजावेथको माथि उल्लिखित वर्षगाँठ, थाइल्यान्डका पूर्वराजा भूमिबल अदुल्यादेज र जापानका पूर्वसम्राट् हिरोहितोको वर्षगाँठका उदाहरणबाट हीरक महोत्सव विदेशमा ६०औँ वर्षलाई भनिने गरेको विषयमा लगभग स्पष्ट नै छ ।  नेपालमा पनि सत्यवती गाउँपालिका–४ मा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयले वि.सं. २०७५ मङ्सिरमा ६० वर्षमा हीरक महोत्सव मनाउँदा पूर्वविद्यार्थी, अभिभावक र शुभचिन्तकबाट नगद ९० लाख रुपियाँ, पाँच लाखको भूमिदान र १५ लाखको अन्य सामग्री जम्मा भएको थियो । यही वर्ष गुल्मीकै वामीटक्सारमा रहेको महेन्द्र आदर्श माविले ६० वर्ष पुगेको उपलक्ष्यमा फागुन महिनामा हीरक महोत्सव मनाएको हो ।

यसरी नेपालमा धेरै विद्यालयले ६०औँ वर्षमै हीरक महोत्सव मनाए पनि दाङको पद्मोदय पब्लिक नमुना माविले आफ्नो ७५औँ वार्षिक जन्मोत्सवलाई हीरक महोत्सव नै भनेको छ र पशुपति मित्र माविले यही वर्षलाई हीरक वर्ष वा महोत्सव भनेर मनायो । मनाउने क्रममा नेपालका केही शब्दकोषलाई आधार मानेको देखिन्छ । 

प्रधानसम्पादक हेमाङ्गराज अधिकारी र सम्पादक बद्रीविशाल भट्टराई रहेको प्रयोगात्मक शब्दकोशमा यसरी अथ्र्याइएको छ, “हीरक जयन्ती– (तत्स.) ना. पचहत्तर वर्ष पुगेपछि मनाइने उत्सव ।” यो प्रयोगात्मक शब्दकोशले यसरी स्पष्टसँग तत्सम शब्दका रूपमा हीरक वर्ष ७५औँ वर्षमा मनाइने भनेको छ । प्रज्ञा नेपाली बृहत् शब्दकोश (वि.सं. २०७९)ले यसरी अथ्र्याएको छ, “हीरक जयन्ती (सं.) ना. कुनै विशेष व्यक्ति, संस्था, कार्य आदिको जन्म वा स्थापना ७५ वर्षमा प्रवेश हुँदा मनाइने विशेष उत्सव (कतै यस्तो उत्सव ६० वर्षमा प्रवेशपछि पनि मनाइएको देखिन्छ) ।” 

प्रज्ञा नेपाली बृहत् शब्दकोशमै हीरक वर्ष ६० र ७५ वर्ष दुवैमा मनाउने भनी उल्लेख छ । त्यसैले पशुपति मित्र मावि, काठमाडौँ र पद्मोदय मावि, दाङले मनाएको महोत्सव मात्र होइन, अन्य सङ्घसंस्था वा व्यक्तिले मनाएको हीरक वर्ष/महोत्सव/जयन्ती फरक फरक वर्षमा पर्ने गरेको छ । यसको उत्तर खोजी हुनुपर्छ । 

अक्सफोर्ड डिक्सनरीमा डायमन्ड जुब्लीका सन्दर्भमा ६०औँ वर्षलाई उल्लेख गरेको छ । यसरी हेर्दा हीरक, प्लेटेनियम र पेडेलियम (अमृत) वर्ष क्रमशः ६०, ७० र ७५औँ वर्षमा मनाउँदा ठिक हुन्छ कि जस्तो लाग्छ । जे होस् कुनै संस्था स्थापना भएको वा कुनै सम्बन्ध स्थापना भएको हरेक वर्षलाई के नाम दिने भन्नेबारे एउटा सूची नै बनेको छ । स्थापनाको पहिलो वर्ष कागज वर्ष, दोस्रो वर्ष कपास वर्ष, तेस्रो वर्ष छाला वर्ष, चौथो वर्ष लिलेन वर्ष, पाँचौँ वर्ष काठ वर्ष, छैटौँ वर्ष फलाम वर्ष, सातौँ वर्ष ऊन वर्ष, आठौँ वर्ष पित्तल वर्ष, नवौँ वर्ष तामा वर्ष र दसौँ वर्षलाई टिन वर्ष अर्थात् आल्मुनियम वर्ष भनिन्छ । एघारौँ इस्पात, बाह्रौँ रेशम, तेह्रौँ फिता र चौधौँ हात्तीको दाँत वर्षका रूपमा मनाइन्छ । 

यसैगरी पन्ध्रौँलाई क्रिस्टल, बीसौँलाई चिनियाँ माटो वर्ष र पच्चीसौँलाई रजत वर्ष, चालीसौँलाई रुबि, पचासौँलाई स्वर्ण, साठीऔँलाई हीरक, सत्तरीऔँलाई प्लेटेनियम, पचहत्तरौँलाई पेडेलियम वा अमृत वर्षका रूपमा मनाइन्छ र १०० वर्षलाई शताब्दी वर्षका रूपमा मनाइने कुरा भिजन एन्ड विज्डम भन्ने अनलाइन पत्रिकामा पनि उल्लेख गरिएको छ । यसैले कतै पनि द्विविधा नमानी कुन वर्षलाई के भन्ने भनी नेपालमा स्पष्ट धारणा आउन जरुरी देखिन्छ । रजत र स्वर्ण वर्ष जसरी निर्विवाद छ, त्यसरी नै हीरक र अमृत वर्षका बारेमा एउटा स्पष्ट धारणा हुनुपर्छ ।