• ८ मंसिर २०८१, शनिबार

अदुवा निर्यातमा उल्लेख्य वृद्धि

blog

काठमाडौँ, वैशाख १६ गते । तुलनात्मक लाभको वस्तुका रूपमा प्रवद्र्धन भइरहेको अदुवाको निर्यात १०५ प्रतिशतले बढेको छ । छिमेकी मुलुक भारतमा माग बढ्दै गएपछि अदुवा निर्यातमा वृद्धि भएको हो । अन्य वस्तुको निर्यात घटिरहेका बेला स्वदेशी उत्पादन अदुवा निर्यात भने दोब्बरले बढेको हो । 

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा अदुवा निर्यात १०५ प्रतिशतले बढेर आठ अर्ब ५३ करोड २३ लाख एक हजार रुपियाँ बराबरको एक करोड ९१ लाख ४७ हजार ८३० केजी अदुवा निर्यात भएको हो । 

गत वर्ष सो अवधिमा चार अर्ब १६ करोड ८४ हजार रुपियाँ बराबरको ७३ लाख १८ हजार ३५ किलो अदुवा निर्यात भएको थियो । केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा छ अर्ब ४१ करोड ४५ लाख छ हजार रुपियाँ बराबरको एक करोड १९ लाख ५८ हजार ८९३ किलो अदुवा निर्यात भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा २१ हजार ९१२ हेक्टर क्षेत्रफलमा  दुई लाख ७९ हजार २०६ मेट्रिक टन अदुवा उत्पादन भएको छ । 

आव २०७६/७७ मा २३ हजार पाँच सय हेक्टर क्षेत्रफलमा दुई लाख ९८ हजार ९४५ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । नेपालमा उत्पादित ९० प्रतिशत अदुवा भारतमा निर्यात हुने गर्छ । भारतमा अदुवा उत्पादनमा कमी हुने बित्तिकै स्वदेशी अदुवाको माग बढ्ने गरेको व्यवसायीको भनाइ छ । मसला उत्पादनमा भारत विश्वकै ठूलो बजार भएकाले अदुवाको माग भारतमा अत्यधिक बढेकाले निर्यात पनि बढेको व्यवसायी बताउँछन् । 

हाल नेपालको पाल्पा, सिन्धुली, धादिङ, प्युठान, ताप्लेजुङ, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवनलगायत जिल्लामा व्यावसायिक रूपमा अदुवाको खेती हुने गरेको छ । मसला र औषधिका रूपमा अदुवाको प्रयोग बढी हुने गर्छ । 

छ अर्बको अलैँची निर्यात

नेपालको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँची निर्यात ६५ प्रतिशतले बढेको छ । 

व्यापार प्रवद्र्धन तथा निकासी केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको नौ महिनामा छ अर्ब ३५ करोड ७७ लाख ७० हजार रुपियाँ बराबरको ७८ लाख ७१ हजार ३१९ किलो अलैँची निर्यात भएको हो । गत वर्ष सो अवधिमा तीन अर्ब ८५ करोड २५ लाख ७१ हजार रुपियाँ बराबरको ४२ लाख ६८ हजार ८५३ केजी अलैँची निर्यात भएको छ । 

केन्द्रका अनुसार आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँ बराबरको ५३ लाख ६७ हजार ४४३ किलो अलैँची निर्यात भएको छ । नेपालले पाँच वर्षको अवधिमा २५ अर्ब ६९ लाख ७० हजार बराबरको अलैँची निर्यात गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँको पाँच हजार ३६७.४४ मेट्रिक टन अलैँची निर्यात गरेको विभागले जनाएको छ । यस्तै आर्थिक वर्ष २०७७/७८ मा सात अर्ब दुई करोड २४ लाख ९३ हजार रुपियाँ बराबरको आठ हजार ८५७.३४ मेट्रिक टन अलैँची निर्यात गरेको थियो । त्यस्तै नेपालले आव २०७६/७७ मा चार अर्ब एक करोड ९२ लाख रुपियाँको अलैँची निर्यात गरेको छ भने आर्थिक वर्ष २०७५/७६ मा चार अर्ब २८ करोड ४२ लाख रुपियाँ अलैँची निर्यात भएको थियो । अलैँचीको निर्यात बढाउन सके विदेशी मुद्रा आर्जन गरी बढ्दो व्यापार घाटा कम गर्न सकिने विज्ञहरूको भनाइ छ । 

१५ हजार हेक्टरमा अलैँची खेती

अलैँची पूर्वी नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ । अलैँची निर्यातको मुख्य बजार भारत हो । भारतसँगै चीन, यूएई, पाकिस्तानलगायतका देशमा पनि नेपाली अलैँची निर्यात हुने गर्दछ । 

नेपालबाट निर्यात भएको अलैँची भारतले प्याकेजिङ, ग्रेडिङ गरेर भुटान र बङ्गलादेशमा पठाउने गरेको पनि केन्द्रले जनाएको छ । यस्तै नेपालमा आव २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । आव २०७६/७७ मा १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा नौ हजार ५४५ मेट्रिक टन अलैँची उत्पादन भएको तथ्याङ्क छ । अलैँची,  सङ्खुवा सभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, ओखलढुङ्गालगायत अन्य जिल्लामा खेती हुने गरेको छ ।

अदुवा निर्यात १०५ प्रतिशतले बढेर नौ महिनामा साढे आठ अर्बको निर्यात पुग्यो भने अलैँची निर्यात ६५ प्रतिशतले वृद्धि भएको छ ।