• १३ असोज २०८१, आइतबार

मङ्गलबारे–पाराबारी सडक कालोपत्रे

blog

बिर्तामोड समाचारदाता

बिर्तामोड, वैशाख ११ गते । शिवसताक्षी नगरपालिका–२ स्थित मङ्गलबारे–पाराबारी सडक कालोपत्रे भएको छ। शिवसताक्षी नगरपालिका–२ कार्यालय र स्थानीय उपभोक्ताको संयुक्त साझेदारीमा सडक कालोपत्रे गरिएको हो। 

शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६१ लाख ६० हजार रुपियाँ, वडा नं. २ को कार्यालयबाट विनियोजित बजेट १८ लाख रुपियाँ र स्थानीय उपभोक्ताबाट सङ्कलित १९ लाख ९८ हजार ७०५ रुपियाँ गरी ९९ लाख ९८ हजार ७०५ रुपियाँको लागतमा सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाले जनाएको  छ। सडक ९४५ मिटर कालोपत्रे भएको छ।

सोही सडक वडा नं. ३ पर्ने दुई सय मिटर पनि कालोपत्रे भएको छ। यसमा वडा नं. ३ को कार्यालयले १४ लाख रुपियाँ र त्यस वडाका उपभोक्ताले तीन लाख ७५ हजार रुपियाँ सहयोग गरेका हुन्। दुई चरणमा कालोपत्रे भए पनि हाल मङ्गलबारेदेखि पाराबारीको एक हजार १२४ मिटर सडक कालोपत्रे भएको शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्राले बताउनुभयो।

शिवसताक्षी क्षेत्रकै पुरानो बजार मङ्गलबारे र पाराबारी जोड्ने सडक आवश्यकताका आधारमा कालोपत्रे गरिएको उहाँले बताउनुभयो। पूर्ण बजेट नहुँदा नगरपालिका, दुवै वडाको सिलिङ बजेट र स्थानीय उपभोक्ताको साझेदारीमा सडक कालोपत्रे गरिएको उहाँको भनाइ छ ।  

सडक कालोपत्रे भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। मङ्गलबारे बजारबाट पाराबारी जाने भित्री बाटो यहाँका बासिन्दा र व्यापारीका लागि अति आवश्यक रहेको स्थानीय नेत्रप्रसाद बिमलीले बताउनुभयो। कच्ची बाटोका कारण स्थानीय बासिन्दालाई आवतजावतमा समस्या थियो।