• १३ साउन २०८१, आइतबार

‘विद्युत् खपत विस्तारको विशेष योजना आवश्यक’

blog

काठमाडौँ, वैशाख ६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विद्युतकाे आन्तरिक खपत विस्तार गर्ने विशेष कार्ययोजना आवश्यक रहेको औँल्याउनुभएको छ । 

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानले आयोजना गरेको ऊर्जा सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय समृद्धिका लागि विद्युत् निर्यातभन्दा खपत विस्तारमा बहुआयामिक लाभ रहेकाले सरकार र निजी क्षेत्र दुवै मिलेर कार्ययोजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले विद्युत् खपत बढाउन सबैभन्दा उत्तम कृषिक्षेत्र रहेको बताउनुभयो । 

“६५ प्रतिशत जनता आश्रित कृषि क्षेत्रको आधुनिकीकरण र कुल गार्हस्थ उत्पादनमा योगदान बढाउन हरित ऊर्जाले काम गर्न सक्छ,” उहाँले भन्नुभयो, “दोस्रो प्राथमिकता औद्योगिक क्षेत्र हो भने त्यसपछि खाना पकाउने र यातायात क्षेत्रमा खपत बढाउन सकिन्छ ।” 

उहाँले आन्तरिक खपत विस्तारका बाबजुद पनि राष्ट्रिय विद्युत् प्रणालीमा थप रहेको बिजुली निर्यात प्रवर्धन गर्न सरकार सक्रिय रहेको औँल्याउनुभयो । “विद्यत् क्षेत्रमा भएको ठूलो लगानीको प्रतिफल रक्षाका लागि निर्यात गर्नु पनि आवश्यक छ,” 

उहाँले भन्नुभयो । उहाँले विद्युत् उत्पादनमा नेपालले गौरव गर्नलायक प्रगति गरेको भन्दै त्यो प्रगतिलाई समग्र आर्थिक उत्थानमा प्रयोग गर्न सम्मेलन फलदायी हुने अपेक्षा गर्नुभयो ।

विद्युत् उत्पादनमा उल्लेख्य प्रगतिका बाबजुद अझै पनि कतिपय जनता विद्युत् पहुँचबाट टाढा रहेको उल्लेख गर्दै उहाँले ग्रिड तथा अफग्रिड प्रणालीमार्फत भए पनि शतप्रतिशत जनतालाई विद्युतीय पहुँचमा आबद्ध गर्न आवश्यक रहेको बताउनुभयोे । प्रसारण र वितरण सञ्जाललाई अझै भरपर्दो र दिगो बनाउन सके सबै नेपालीले भरपर्दो बिजुली पाउने वातावरण बन्ने उहाँको भनाइ थियो । खपत विस्तारबाटै समृद्धिका साथै वातावरणीय जोखिम निम्त्याइरहेको खनिज इन्धन आयात निरुत्साहित हुँदा जलवायु संरक्षणमा समेत योगदान पुग्ने उहाँले बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रको उत्थान तथा खपत विस्तारका लागि नीतिगत सहजीकरण गर्न सरकार तयार रहेकाले निजी क्षेत्रले कार्ययोजना तथा सुझाव पेस गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हरित ऊर्जाका क्षेत्रमा नेपालमा उल्लेख्य प्रगति हासिल भइरहेको र विद्युत्को बजारीकरणमा पनि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो । 

त्यस्तै भुटानका आर्थिक मामिलामन्त्री लोकनाथ शर्माले विश्व हरित ऊर्जाको तीव्र खोजी भइरहेको अवस्थामा नेपाल र भुटानले हरित ऊर्जा व्यापारबाटै पनि लाभ हासिल गर्न सक्ने अवसर रहेको बताउनुभयो ।

क्षेत्रीय विद्युत् व्यापार विस्तार गर्ने अपेक्षासहित आयोजना गरिएको सो सम्मेलनमा भारत, बङ्गलादेश र भुटानका ऊर्जा क्षेत्रका सरकारी अधिकारी तथा निजीक्षेत्रको उपस्थिति छ । 

सम्मेलनको ‘विद्युत् क्षेत्रमा लगानी प्रवद्र्धन’सम्बन्धी सत्रलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जलविद्युत् क्षेत्र लगानी र प्रतिफलका हिसाबले अत्यन्तै आकर्षक रहेको बताउनुभयो । उहाँले परियोजना प्रवद्र्धन गर्न बोर्डले व्यावसायिक तवरले सहजीकरण गर्ने र त्यसको परिणाम पनि देखिन थालेको बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा पछिल्लो पाँच वर्षमा वार्षिक १५ देखि २५ प्रतिशत विद्युत् खपत बढिरहेको भन्दै अझै विस्तार गर्न विद्युत् पूर्वाधार विकासमा ठूलो लगानी आवश्यक रहेको औँल्याउनुभयो ।