• १३ असोज २०८१, आइतबार

पोकली झरनाको विकासमा सरकारले ध्यान दिन्छ : शिक्षा मन्त्री

blog

लिखु गाउँपालिका–९ पोकलीको बाच्पुमा मङ्गलबारदेखि सुरु भएको सुनुवार कोइँच सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्नुहुँदै शिक्षामन्त्री राई । तस्बिर : शेरबहादुर राई

शेरबहादुर राई
ओखलढुङ्गा, वैशाख ६ गते ।
ओखलढुङ्गाको पोकली झरनाको संरक्षण र विकासमा सरकाले ध्यान दिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताउनुभएको छ । लिखु गाउँपालिका–९ पोकलीको बाच्पुमा मङ्गलबारदेखि सुरु भएको सुनुवार कोइँच सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्ने क्रममा मन्त्री राईले यस्तो बताउनुभएको हो ।

पर्यटकीय क्षेत्र, कला र संस्कृतिको संरक्षणमा सरकारले विशेष योजना बनाएको मन्त्री राईको भनाइ छ । सरकारले घोषणा गरेको एक सय पर्यटकीय गन्तव्य मध्यको पोलकी झरना र यस क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने मन्त्री राईले प्रतिबद्धता जनाउनुभएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका सङ्घीय सांसद रामहरि खतिवडाले जिल्लाको पर्यटन प्रवर्द्धन र समग्र जिल्लाको विकासका लागि आफु जुटिरहेको बताउनुभयो । केन्द्रीय विद्युत विस्तारको काम धमाधम भइरहेकाले आगामी एक वर्ष भित्र जिल्लाको सबै गाउँ टोलमा विद्युत पुग्ने सांसद खतिवडाले जानकारी दिनुभयो ।

पर्यटन क्षेत्रको विकासका लागि सडक र विद्यतको विकास गर्न आवश्यक रहेको खतिवडाको भनाइ छ । महोत्वस उद्घाटन कार्यक्रममा कोशी प्रदेशका सभामुख बाबुराम गौतम, प्रदेश सांसद प्रदीपकुमार सुनुवार, पूर्व सङ्घीय सांसद यज्ञराज सुनुवारलगायतको उपस्थिति थियो ।


सुनुवार जातीको कला संस्कृति र रितिरिवाज, भाषा, लिपि तथा धार्मिक एवम् पर्यटकीय ऐतिहासिक पोकलीलगायत अन्य स्थलहरुको सरंक्षण संवर्द्धन  गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक पशुपति सुनुवारले बताउनुभयो । पोकली र सुनुवार समुदायको संस्कृति प्रचारप्रसार गर्ने महोत्सवको उद्देश्य रहेको सुनुवारको भनाइ छ । सुनुवार सेवा समाज, हिमचुली जनजागरण युवा क्लब र पोकली झरना सेवाको संयुक्त आयोजनामा सुनुवार काईच महोत्सवको गरिएको छ । महोत्सव आज (बुधबार) समापन हुने आयोजकले जनाएको छ ।