• १३ असोज २०८१, आइतबार

मेची राजमार्गका अवैध संरचना भत्काउन सुरु

blog

फुङ्लिङ नगरपालिकाद्वारा मङ्गलबार सडक संरचना हटाउँदै गरिएको दृश्य। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख ५ गते। ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारभित्र मेची राजमार्गका अवैध संरचना भत्काउन थालिएको छ। फुङ्लिङ नगरपालिकाले बजार क्षेत्रको मेची राजमार्गको सडक क्षेत्रभित्र बनाइएका अवैध घरटहरासहित संरचना मङ्गलबारदेखि हटाउन सुरु गरेको हो। 

सडक क्षेत्राधिकारभित्र निर्माण भएका घर–टहरा लगायतका संरचना हटाउनलाई दिएको अन्तिम पटकको म्याद सोमबार सकिएसँगै नगरपालिकाले मङ्गलबारदेखि संरचनाहरु भत्काउन सुरु गरेको हो। सडक क्षेत्राधिकारभित्र पर्ने दाँया–बाँया दुवैतिरका संरचना नगरपालिका आफैँले जेसीभी (डोजर) प्रयोग गरेर हटाउन थालेको हो। नेपाल प्रहरीसहित सुरक्षाकर्मीको सहयोग लिएर नगरपालिकाले मेची राजमार्ग मापदण्डअनुसार सडक खाली गराउन अवैध संरचनाहरु भत्काउन सुरु गरेको जनाएको छ।

 मङ्गलबार फुङ्लिङ बजारको छेउ सशस्त्र चेकपोइन्ट हुँदै मुख्यबजार प्रवेशद्वार हेलिप्याड क्षेत्र, रिजाललाइन, तोक्मेडाँडा बसपार्क लाइन, शान्तिटोल, न्यूरोड, पूरानो बैङ्क लाइन, पराजुलीचौक, बुद्धचौक लगायतका क्षेत्रमा सडक सीमाभित्र निर्माण गरिएका अवैध घरटहरा भत्काइएका छन्। 

सडक मापदण्डभित्र बनाइएका संरचना हटाउनलाई पटक–पटक सूचना दिए पनि स्थानीय बासिन्दाले अटेर गरेपछि त्यस्ता अवैध संरचनाहरु हटाउने प्रक्रिया सुरु गर्न बाध्य भएको फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेनले बताउनुभयो। प्रमुख मादेनका अनुसार नगरपालिकाको र अर्को एक निर्माण कम्पनीको जेसीभी (मेशीन) प्रयोग गरेर अवैध संरचनाहरु भत्काइएको छ। केही स्थानीय बासिन्दाले भने पटक–पटक सूचना भएपछि आफैँ घरटहरा हटाउन थालेका थिए। 

अधिकांसले भने पटक–पटक सूचना जारी भए पनि सूचनाको बेवास्ता गर्दै सडक क्षेत्रधिकारभित्र निर्माण गरिएका अवैध संरचनाहरु हटाउनलाई अटेर गरेर बसेका थिए। अन्तिमपटक भनेर जारी भएको सूचनाको म्याद सकिएसँगै नगरपालिकाले अवैध संरचना भत्काउन थालेपछि भने मङ्गलबार अर्का क्षेत्रका कतिपय बासिन्दाले आफैँले बनाएको घरटहरा भत्काउन सुरु गरेको पाइएको थियो।

६५ दिनको लामो म्याद दिएर नगरपालिकाले जेसीभी चलाउन थालेकै दिन आफैँले संरचना भत्काउन सुरु गरे पनि जेसीभी पुग्दासम्ममा हटाउन भ्याएको सामान मात्र स्थानीयले दुरुस्त गरी जोगाउन सकेका थिए। जेसीभी प्रयोग भई भत्काइएका संरचनामा भने जस्तापाता, प्लाइउड र काठहरु प्रयोग गरिएकाले अधिकांश पुनः प्रयोग गर्न नमिल्ने भएका छन्। नगरपालिकाले सडकको दाँयाबाँया सात–सात मिटर चौडा कायम हुनेगरी संरचनाहरु भत्काउन थालेको हो।  

यसरी मेची राजमार्ग सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनलाई सडक डिभिजन कार्यालय इलामले पहिलो पटक गत पुस २४ गते ३५ दिने सूचना जारी गरेको थियो। अवैध संरचना हटाउने सूचना जारी गर्दै सडक डिभिजन कार्यालयले सडक सीमा क्षेत्रका संरचना व्यवस्थापन कार्यका लागि सीमा क्षेत्रका स्थानीय तहकोसमेत सहयोग मागेको थियो। 

सोही सडक डिभिजन कार्यालयको अनुरोधअनुसार ३५ दिने म्याद सकिएपछि फुङ्लिङ नगरपालिकाले सडक क्षेत्राधिकार भित्रका संरचना हटाई सहयोगको अपिल गर्दै दोस्रो पटक गत फागुन १४ गते १५ दिने म्याद दिएको थियो। त्यसपछि तेस्रोपटक गएको चैत १ गते र चौंथो अर्थात अन्तिम पटकभन्दै नगरपालिकाले सात–सात दिने म्याद दिएको थियो। नगरपालिकाले अन्तिम सूचनामा म्यादभित्र संरचना नहटाए सडक ऐनको व्यवस्थाअनुसार भएर जानेसमेत स्थानीय बासिन्दालाई सचेत गराएको थियो।