• १३ असोज २०८१, आइतबार

काठमाडौं टिम च्याम्पियन

blog

टिम च्याम्पियन बागमतीका खेलाडी । तस्बिर : राखेप

काठमाडौं, वैशाख ५ गते । १३औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगितामा काठमाडौं टिम च्याम्पियन बनेको छ ।  विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो ।

प्रदेश खेलकुद विकास परिषद् बागमतीद्वारा आयोजित प्रतियोगितामा चितवन १० स्वर्णसहित दोस्रो भयो । तेस्रो स्थानको मकवानपुरले ६ स्वर्ण जित्यो । 

शीर्षतीन स्थान हात पार्नेललाई क्रमश: ३० हजार, २० हजार र १० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको प्रदेश खेलकुद विकास परिषद् बागमतीका कार्यालय प्रमुख देवनारायण चौधरीले जानकारी दिनुभयो । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको अन्तिम दिन छात्रको भलिबलमा चितवन पहिलो, धादिङ दोस्रो तथा मकवानपुर र ललितपुर तेस्रो भयो । छात्रामा काठमाडौंले स्वर्ण, मकवानपुरले रजत तथा काभ्रे र ललितपुरले कांस्य जिते ।

कबड्डीको छात्रमा काभ्रे पहिलो, काठमाडौं दोस्रो तथा धादिङ र मकवानपुर तेस्रो भयो । छात्रामा काठमाडौं विजेता, धादिङ उपविजेता तथा मकवानपुर र भक्तपुर तेस्रो बने ।

विजेतालाई राखेपका सदस्य सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीलगायतले पुरस्कार प्रदान गर्नुभयो । 

तीन दिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा ५२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा १२ सय नौ खेलाडीको सहभागिता रहेको थियो ।