• १३ साउन २०८१, आइतबार

भेडाबाख्रालाई निःशुल्क पीपीआर खोप

blog

भेडाबाख्रालाई निःशुल्क पीपीआर खोप दिँदै ।

अर्जुन काफ्ले 

स्याङ्जा, बैशाख ३ गते । चापाकोट नगरपालिकाले भेडाबाख्रामा निःशुल्क पीपीआर खोप लगाएको छ । मान्छेमा जस्तै बाख्राहरूमा पनि ज्वरो आउने, नाकबाट सिँगान बग्ने र पखाला लाग्ने रोगबाट बचाउन पीपीआर खोप घरपालुवा भेडाबाख्रामा लगाइएको हो । 

रोगबाट लड्ने क्षमता बढाउन टोलटोलमा पुगेर शिविरमार्फत खोप दिने अभियान गरेको नगर प्रमुख देवबहादुर खाँण (ईश्वर)ले बताउनुभयो । चापाकोट नगरपालिकाका नागरिकको स्वास्थ्य शिविरपछि पशुपंक्षीमा सो खोप लगाएको बताउँदै खाँणले अहिले बाख्रा भेडालाई पीपीआर खोप दिएको बताउनुभयो । 

त्यसपछि कुखुरा, गाईभैँसीमा पनि खोप दिने अभियान सञ्चालन गर्ने खाँणले बताउनुभयो । 

नगरपालिकाभित्रका ४६ भेडा र ११ हजार ४७४ बाख्रा गरी ११ हजार पाँच सयलाई पीपीआर खोप लगाइएको हो । चापाकोट नगरपालिका र किसान प्राविधिक शिक्षालय चापाकोटको ३८ जना प्राविधिक टोलीले हरेक टोलमा पुगेर किसानका बाख्रामा खोप लगाइएको पशु शाखाका प्रमुख भूपराज भण्डारीले बताउनुभयो ।