भक्तपुर, फागुन २२ गते । भक्तपुरको दुई वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले फराकिलो मतान्तरले अग्रता कायमै राखेको छ।
आज राति ९ बजेसम्म भक्तपुर क्षेत्र नं १ मा ३० हजार ७१८ मतगणना हुँदा रास्वपाका रुकेश रन्जितले १६ हजार ३५ मत सहित अग्रता कायमै राख्नु भएको छ भने नेमकिपाका प्रेम सुवालले ११ हजार १५० मतले पछ्याउनु भएको छ । नेपाली कांग्रेसका किरण न्यौपानेले २ हजार ४१५ र नेकपा एमालेका सोमप्रसाद मिश्रले १ हजार ८४२ मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी भक्तपुर क्षेत्र नं २ मा २५ हजार ७४६ मत गणना गर्दा रास्वपाका राजिव खत्रीले १५ हजार २६१ मतले अग्रता कायमै राख्दा एमालेका महेश बस्नेतले ४ हजार २६९ मतसहित पछ्याउनु भएको छ । नेपाली कांग्रेसका कविर राणाले ३ हजार ८०१ मत प्राप्त गर्नु भएको छ ।
भक्तपुर क्षेत्र नं १ मा कूल एक लाख सात हजार ५४ मतदाता रहेकोमा ७६ हजार ७६१ मत खसेको थियो भने क्षेत्र नं २ मा ९८ हजार ३५६ मतदाता रहेकोमा ७२ हजार ७६१ मत खसेको थियो । मतगणना जारी रहेको छ । रासस