फडिन्द्र अधिकारी
लेखनाथ, फागुन २३ गते । कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विना गुरुङ निर्वाचित हुनुभएको छ ।
सुरुदेखि नै अग्रता कायम गर्नुभएकी गुरुङले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई झन्डै तेब्बर मतले पछाडि पार्दै जित हाँसिल गर्नुभएको हो ।
शुक्रबार राति सकिएको मतगणनाको परिणामअनुसार विजयी गुरुङले ३७ हजार सातसय ५० मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङले १२ हजार सातसय ८० मत ल्याउनुभयो । यो क्षेत्रमा निवर्तमान सांसदसमेत रहनुभएका एमाले उम्मेदवार दामोदर बैरागी ७ हजार नौ सय ६ मत पाएर तेस्रो हुनुभयो ।
कास्की ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार अर्जुन खनालले एक हजार पाँच सय २५ मत पाउँदा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल गिरीले एक हजार चार सय ५६ मत पाउनुभयो । यो क्षेत्रमा १५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।