• १३ साउन २०८१, आइतबार

तीन तह आकाशको काव्य स्वरूप

blog

कति नाङ्गो हुन्थ्यो धरती

सिरानीमा एउटा आकाश पनि नहुँदो हो त ?

माथिको कविता कवि आर मानन्धरको कविता कृति ‘कवितामा आकाश’मा सङ्ग्रहित रचना हो । चिन्तन र दर्शनको अमृत घोलेर कवितामार्फत्  पाठकमाझ पस्कने कवि आर मानन्धरको लेखन शैली प्रचलित अन्य कविहरूको भन्दा केही पृथक् छ । 

दोस्रो खण्ड : आकाश–काव्य

कवि आर. मानन्धरको कृति ‘कवितामा आकाश’ तीन खण्डमा निर्मित काव्य घर हो । जसलाई तीन तलाको काव्य घर भन्न सकिन्छ । हेरौँ पहिलो तलाको काव्याकाश, ‘प्रार्थना’ शीर्षकको कवितांशबाट : 

हे आकाश !

तिमी मलाई आफूजस्तै

अनन्त हुन सिकाइदेऊ

आफूजस्तै व्याप्तिन सिकाइदेऊ ।

पहिलो खण्ड, अर्थात् कविता खण्डमा ४९ वटा कविताहरू छन् । लघुतम आकारमा लेखिएका ती कविताको भाव पक्षको लम्बाइ र चौडाइ भने विराट छ । उदाहरणार्थ एउटा कविता प्रस्तुत छ :

फैलिएर होइन

आकाश विशाल भएको

हो त त्यो

अनन्त गहिरिएर ।

 दोस्रो खण्ड : चिन्तन–काव्य

दोस्रो खण्ड ‘चिन्तन’मा ३६ वटा छोटा रचना समावेश छन् । चिन्तनको आफ्नै छुट्टै साहित्यिक विधा पाइँदैन । तर कवितात्मक शैलीमै लेखिएका यस खण्डका रचनामा कविले जीवन, समाज र भोगाइका यथार्थलाई चेतनाभित्रको संचेतना प्रवाह गरेका छन् । त्यसैले, लेखकले कविता नभने पनि ती काव्य नै हुन्– ‘चिन्तन–काव्य’ ! ‘गद्यमा कविता’ (प्रोज पोइम) शैलीमा जीवनका गम्भीर विषयहरू खोतल्न सफल छन् कवि मानन्धर ।

हेरौँ चिन्तन खण्डमा समावेश ‘धारणा’ शीर्षकको एक चिन्तनशील कविता । 

राम्रो के हो ? थाहा छैन मलाई ।

नराम्रो के हो ? त्यो पनि थाहा छैन मलाई ।

अरूले भनेपछि मात्रै थाहा पाउँछु म – राम्रो र नराम्रो ।

अरूसित बुझ्दैबुझ्दै

कालान्तरमा म राम्रो –नराम्रो राम्ररी खुट्याउन सक्ने भएँ ।

राम्रो–नराम्रो भन्न जान्ने भएँ ।

तर त्यस बेलासम्म मैले हेर्नै बिर्सिसकेको रहेछु !

तेस्रो खण्ड : दर्शन–काव्य

कृतिको तेस्रो खण्ड ‘दर्शन’मा ३६ शीर्षकमा लेखिएका कवितात्मक रचना छन् । ती रचनाहरू विषयमा दर्शन र शैलीमा कविताले ओतप्रोत छन् । त्यसैले दर्शन खण्डका रचनालाई मजाले ‘दर्शन–काव्य’ भन्न सकिन्छ ।

आर मानन्धरका कवितामा सम्यक दृष्टि छ । एउटै कृतिमा उनले तीन फरक शैली र संरचनामा कविता पस्केका छन् । पाठकहरूले पहिलो खण्डमा कविताको सतह टेक्दै बिस्तारै चिन्तन काव्यको भ¥याङ उक्लदैँ दर्शन काव्यमा प्रवेश गर्दा काव्यात्मक रसानुभूति मात्र गर्ने छैनन्, मानव हुनुको सूक्ष्म गम्भीरता र विराट सम्भावना पनि ठम्याउने छन् । मानौं, समथर जमीनबाट विस्तारै उक्लँदै उक्लँदै डाँडा र पहाड हुँदै स्वर्गीय आनन्द र अनुभूति दिने हिमालको चुचुरोमा पुगेसरि ‘कवितामा आकाश’ काव्य कृतिले । 

कवि मानन्धरले कवितामा कतै पनि शब्द थुपारेका छैनन्, बरु थोरैभन्दा थोरै शब्दमा धेरैभन्दा धेरै कविता थुपारेका छन् । निचोडमा भन्दा यस कृतिमा कवि आर मानन्धरले आफ्नो काव्य शिल्पमार्फत पाठकको लागि तीन तहको आकाश उघारेका छन् । 

कृति : कवितामा आकाश

विधा : कविता

कवि : आर. मानन्धर

प्रकाशक : मञ्जरी प्रकाशन

प्रकाशन : २०७८

पृष्ठ : १३६

मूल्य : २५०–

Author

जितेन्द्र रसिक