• ८ मंसिर २०८१, शनिबार

चोभार बन्दरगाह सञ्चालन निष्प्रभावी

blog

काठमाडौँ, वैशाख १ गते । काठमाडौँको चोभारमा स्थापना भएको चोभार सुक्खा बन्दरगाह सञ्चालन भएको एक वर्षमा १३२ कन्टेनर सामान आयात र पाँच कन्टेनर सामान निर्यात भएका छन् । 

व्यापार सहजीकरण गर्ने उद्देश्यसहित विश्व बैङ्कको सहयोगमा स्थापित बन्दरगाह सञ्चालन भएको एक वर्षको अवधिमा न्यून परिमाणमा मात्र आयात निर्यात भएको हो । आयात निर्यात सहजीकरण गर्ने लक्ष्यसहित बन्दरगाह स्थापना गरिए पनि प्रभावकारी रूपमा सञ्चालन हुुन नसकेको हो । 

गत वर्ष चैत २२ गते बन्दरगाहको औपचारिक रूपमा उद्घाटन भएको थियो । नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह सञ्चालन र व्यवस्थापनको काम गर्दै आएको छ ।

व्यापारविज्ञ रविशङ्कर सैँजूले नियम र व्यवस्थापन एउटै निकायले गर्दा बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको बताउनुभयो । “समितिले नियमन गर्ने र सञ्चालन र व्यवस्थापनका लागि निजी क्षेत्रलाई खुला गर्ने हो; जुन हुन नसक्दा सञ्चालन प्रभावकारी भएन,” उहाँले भन्नुभयो । समितिले बन्दरगाह सञ्चालन गर्न निजी क्षेत्रलाई टेन्डरसमेत आह्वान गरेको जनाएको छ । 

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन नभएपछि बन्दरगाहभित्र रहेका पूर्वाधारलाई प्रयोग गर्न लजिस्टिक हब (पार्किङ, गोदाम, प्याकेजिङ)का रूपमा विकास गरिएको जानकारी दिनुभयो । पार्किङ र गोदाम प्रयोग गर्न सरोकारवाला निकायसँग छलफल गरी पत्राचार गरे पनि फाट्टफुट्ट मात्र गाडी पार्किङ गर्न आउने गरेको उहाँले जानकारी दिनुुभयो । 

समितिका अपरेटर अधिकृत शान्तिला कार्कीले सुक्खा बन्दरगाह सञ्चालन भएको एक वर्षमा १३७ कन्टेनर सामान आयात निर्यात भएको जानकारी दिनुभयो । १३२ कन्टेनर आयात र पाँच कन्टेनर सामान निर्यात भएको उहाँले जानकारी दिनुभयो । वस्तु आयात भने तेस्रो मुलुकबाट मात्रै हुने गरेका छन् । 

विश्व बैङ्कको एक अर्ब ५४ करोड रुपियाँ सहयोगमा २६० रोपनी क्षेत्रफलमा बन्दरगाह निर्माण गरिएको थियो । यो सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० वटा सवारीसाधन पार्किङ क्षमता, एक हजार २९६ वर्गमिटर क्षमताको एउटा गोदामघर, ८० मेट्रिक टन क्षमताको सवारी नापतौल, लोड/अनलोड सेड, चालक तथा कामदारका लागि शौचालय आदिको व्यवस्था छ । 

बन्दरगाह प्रभावकारी रूपमा सञ्चालन नहुँदा पूर्वाधारको अधिकतम प्रयोग गर्न बन्दरगाहलाई लजिस्टिक हब (पार्किङ, गोदाम र प्याकेजिङ)का रूपमा विकास गर्नका लागि गत फागुन महिनादेखि सञ्चालन गरिए पनि प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको समितिले जनाएको छ । सुक्खा बन्दरगाह प्रभावकारी रूपमा सञ्चालनमा नआएपछि बन्दरगाहमा भएको पूर्वाधार प्रयोग गर्न पार्किङ स्थल, गोदाम र सामान प्याकेजिङका रूपमा प्रयोग गरिएको दुई महिना हुन लाग्दा पनि तीव्र गतिमा सञ्चालनमा आउन नसकेको समितिले जनाएको छ ।

एक करोड रुपियाँ खर्च गरेर बन्दरगाहभित्र रहेको पूर्वाधार प्रयोग गरी लजिस्टिक हब विकास गरिएको थियो । बन्दरगाहभित्र रहेको २६० रोपनी जग्गामध्ये ९० रोपनी जग्गामा १५० देखि दुई सयवटा ट्रक पार्किङ गरिनेछ । यस्तै १२ हजार स्क्वायर फुट गोदाम र लोड/अनलोड गर्ने ठाउँमा प्याकेजिङ स्थल रहेको समितिले जनाएको छ । सुक्खा बन्दरगाहको ८५ रोपनी जग्गालाई अधिकतम प्रयोग गर्नका लागि पार्किङ, गोदाम र प्याकेजिङको व्यवस्था गरेका छौँ तर प्रभावकारी रूपमा सञ्चालनमा आउन नसकेको उहाँको भनाइ छ । दिनमा एक/दुईवटा मात्र गाडी पार्किङ गर्न आउने गरेको समितिले जनाएको छ । 

गत फागुनयता १३ कन्टेनर सामान गोदाममा राखिएको र पार्किङ, गोदाममा शुल्कबापत साढे तीन लाख रुपियाँ सङ्कलन भएको समितिले जनाएको छ । समितिले बन्दरगाहमा रहेको पूर्वाधारलाई प्रयोग गर्न न्यूनतम शुल्क राखेर पार्किङ, गोदाम, प्याकेजिङ स्थल सञ्चालनमा ल्याएको छ ।

४० फिट बराबरको क्षमता भएको कन्टेनरको सामान लोड/अनलोड गरेको वार्षिक छ हजार रुपियाँ र २० फिट बराबरको क्षमता भएको कन्टेनरको चार हजार रुपियाँ शुल्क निर्धारण गरिएको समितिले जनाएको छ । एक दिन मालवाहक सवारीसाधन पार्किङ गरेको एक सय रुपियाँ पार्किङ शुल्क निर्धारण गरिएको छ । गोदामका लागि प्रतिवर्गफिट/प्रतिमहिना ४५ रुपियाँ शुल्क निर्धारण गरिएको छ । सामान प्याकेजिङ गर्ने स्थलसमेत निर्धारण गरिएको छ । 

काठमाडौँमा व्यापार सम्बद्ध भौतिक पूर्वाधारको अभावमा लजिस्टिक व्यवस्थापनमा समस्या भएकाले व्यापार सहजीकरणका लागि एकद्वार प्रणालीबाट आयात निर्यातकर्तालाई सेवा प्रदान गर्ने एवं काठमाडौँ प्रवेश गर्ने ढुवानी साधनलाई व्यवस्थित गर्ने उद्देश्यले सेवा सञ्चालन गरिएको समितिले जनाएको छ ।