• ९ मंसिर २०८१, आइतबार

ज्येष्ठ कलाकारको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउँछ : राज्यमन्त्री ठकुरी

blog

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी । फाइल तस्बिर

काठमाडौं, चैत ३० गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले ज्येष्ठ कलाकारहरूको सम्मानका लागि राज्यले रणनीतिक योजना बनाउने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री सिर्पालीले यस्तो बताउनुभएको हो ।

उहाँले कलाकारहरू चलचित्रमा अभिनय गर्ने, गीत गाउने र नाच्न सक्ने बेलासम्मका लागि वाहवाही पाएपनि ज्येष्ठ नागरिक भएको बेलामा उनीहरूलाई कसैले नहेर्ने देखिएको अवस्थालाई मध्यनजर गरी सरकारले ज्येष्ठ कलाकारहरूको सम्मानका लागि रणनीतिक योजना बनाएर अघि बढ्ने बताउनुभयो ।

उहाँले कलाकारहरूले देशको नाम विश्वमाभल पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने गरेको र तिनै राष्ट्रिय कलाकारहरूलाई भविष्यको निश्चित नहुने दुःखद अवस्थाको अन्त्य गर्न जरुरी रहेको औँल्याउनुभयो । उहाँले कला क्षेत्रको संवर्द्धन गर्ने कुरामा राज्य गम्भीर रहेको बताउनभयो । राज्यमन्त्री सिर्पालीले आगामी दिनमा नेपाललाई फिल्म हब बनाउनतर्फ लाग्नुपर्ने भनाइ व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘कलाकार र कलकारितालाई नेपाली जनताले जसरी माया गर्नुहुन्छ, यसलाई आगामी दिनमा एउटा खालको विशेष रणनीति बनाएर जानुपर्छ । गीत गाउने, नाच्ने  र अभिनय गर्ने बेलासम्म जीवनस्तर राम्रो चल्छ तर भोलिको हकमा केही हुँदैन । हामीलाई चाहिएको भोलिको निश्चित हो ।,’’ राज्यमन्त्री सिर्पालीले भन्नुभयो, ‘‘ज्येष्ठ नागरिक भएपछि के हो त ? राष्ट्रलाई चिनाउने कलाकारहरू ज्येष्ठ नागरिक भएपछि कसैले पनि हातेमालो गरेको देखिँदैन, यो गम्भीर चिन्ताको विषय हो । राज्यले पनि यसलाई गम्भीर बनेर लिनुपर्छ । यसका लागि एउटा रणनीति बनाएर जानुपर्छ । कलाका क्षेत्रको संवर्द्धन, जगेर्ना गर्नेकुरामा हामी सबै बसौँ  । आगामी दिनमा नेपाललाई फिल्म हब बनाउने कुरामा हामी लाग्नुपर्छ । यसलाई पर्यटनको क्षेत्रसँग जोडेर अघि बढ्न सक्छौँ ।’’ राज्यमन्त्री ठकुरीले कला र संस्कृतिको क्षेत्रलाई पर्यटनसँग जोडेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।