• १३ असोज २०८१, आइतबार

सासु बुहारी मिलन कार्यक्रममा जोड

blog

सुनसरीको गढी गाउँपालिकामा आयोजित आदिवासी जनजातिको लागि अभिमुखिकरण कार्यक्रमका सहभागीहरु । तस्विरः जयकृष्ण यादव । इनरुवा

जयकृष्ण यादव 

इनरुवा, चैत २७ गते । सुनसरीको गढीमा आयोजित एक कार्यक्रमका वक्ताहरूले सासु बुहारी सम्बन्ध सुधारका लागि छुट्टै कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका छन् । सासु बुहारी एउटै घरमा भएर पनि धेरैको विवाहपछि मनमुटाब हुने, झैँझगडा हुने र सम्बन्ध बिग्रने भएकाले त्यसलाई कम गर्न छुट्टै कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका हुन् ।

गढी ४ की ७० वर्षीया पवनी साहले सासु र बुहारी दुवै मध्ये एउटाबाट सुरु भएको विवाद परिवारभर नै छरिने भएकाले उनीहरूको सचेतना र समझदारीका लागि नयाँ छुट्टै कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

उहाँले आफ्नो घरमा सासुबुहारीको सम्बन्ध राम्रो भए पनि समाजमा धेरैको घरमा सामान्य कुरामा पनि सासु बुहारी बीचमा विवाद हुने भएकाले दुवैका लागि छुट्टाछुट्टै र संयुक्त कार्यक्रम गर्नुपर्ने बताउनुभयो ।

अर्का सहभागी, सङ्गीता उराँवले बुहारीले आफैँ सासूलाई माया र सम्मानसहित सेवा गर्ने, भनेको मान्ने बानी व्यवहारमा ध्यान दिने बुहारीसँग सासुको झगडा नहुने र बुहारीलाई छोरी सरहको माया दिने सासूसँग बुहारीको झगडा नहुने भएकाले सासु बुहारी मिलन कार्यक्रम गाउँगाउँ र टोलटोलमा आवश्यक रहेको बताउनुभयो । 

घर झगडाले परिवारका सबै सदस्यहरू र बालबालिकाहरूमा बढी मात्रामा असर पर्ने भएकाले सबै वडा तहसम्म सासु बुहारी मिलन कार्यक्रम आवश्यक रहेको अर्का सहभागी पानो साहले बताउनुभयो । 

गढी ४ की वडा सदस्य विमलादेवी उराँवले आफू वडामा सासु बुहारी मिलन कार्यक्रमका लागि बजेटसहित कार्यक्रममा पार्ने प्रतिबद्धता जनाउनुभयो । महिलाहरूले उठाएको सवाल अति राम्रो भएको र अहिले भइरहेको घरझगडामा ग्रामीणको गाउँटोलमा असमझदारी र एकले अर्काको गर्ने डाहाले समस्या देखिएकाले साँच्चै सासु बुहारी मिलन कार्यक्रम आवश्यक रहेको महसुस भएको गढी गाउँपालिकाका उपाध्यक्ष अनिता कुमारी साहले बताउनुभयो ।

उहाँले यस कार्यक्रममा लागि प्रत्येक वडामा र गाउँपालिकामा समेत नीति, कार्यक्रम तथा बजेटमा पार्ने प्रयास गर्ने बताउनुभयो । उपाध्यक्ष साहले सासु बुहारी मिलन कार्यक्रम, दुवैको सम्बन्ध प्रगाढ बनाउने कार्यक्रम र मापदण्ड बनाएर उत्कृष्ट सासु बुहारी सम्मान कार्यक्रम समेत ल्याउने बताउनुभयो ।

गढी ४ का वडा अध्यक्ष राजसेवक साह तेलीले बुहारी सासूको र सासूले बुहारीको हरेक काममा कमजोरी देखाउने, आलोचना गर्ने भएकाले समस्या देखिएको हुँदा सासु बुहारी कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,  “हरेक कामको स्पष्टीकरण दिनुको साटो एकदमै चुपचाप बसिदिनुस् । यसबाट बेकारको विवादबाट बच्न सकिन्छ । तपाईँको उत्तर नआएपछि सासूको व्यवहार बदलिन सक्छ । यस्तो अवस्थामा संयतमाको साथ काम लिनुपर्छ ।” तर कोही भन्दा कोही कम नहुने भएकाले सासु बुहारी बीचको विवाद गाउँघरमा बढेको छ ।

कार्यपालिका सदस्य निलम कुमारी ऋषिदेवले सासूले बुहारीको र बुहारीले सासूको तारिफ गर्ने, एकले अर्कालाई जे भएपछि तपाईँको बुहारी भन्ने र आमा भन्ने, बुहारीले आमाको हातबाट बनेको खानाको स्वाद अर्कै हुन्छ भनेर भन्ने र बुहारीले बनाएको बेला राम्रो भनिदिने हो भने सम्बन्ध सुधार हुँदै प्रगाढ बन्ने भएकाले यसबारेका कार्यक्रम जरुरी रहेको बताउनुभयो ।