ज्ञानु पंगेनी
मध्यविन्दु, मंसिर २ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सवारी दुर्घटना न्यूनीकरण र तथा सुरक्षित यात्रा गराउने उद्देश्यले विद्यालय तथा कलेजका बस लक्षित निगरानी र सचेतना कार्यक्रम अगाडि बढाएको छ ।
जिल्लाका बजार तथा ग्रामीण क्षेत्रमा समेत विद्यालयका बसको चेकजाँच गर्ने कार्य गरिएको छ । आइतबार मात्र जिल्लाको गैडाकोट, रजहर, कावासोती, चोरमारा, अरुणखोला, दुम्किवास, सर्दी लगायतका क्षेत्रमा ३३ वटा विद्यालयका बसमा चेकजाँच गरिएको ट्राफिक कार्यालय प्रमुख प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाले जानकारी दिनुभयो ।
‘हामीले चेकिङ गर्ने कारवाही गर्न र जरिवाना तिराउन मात्र होइन, दुर्घटना न्यूनीकरणसँगै सचेतना जगाउने र सुरक्षित यात्रा होस् भन्ने उद्देश्य राखेर पनि चेकिङ गर्छौँ । अहिले यसै उद्देश्यले विद्यालयका बसलाई निगरानी बढाएका हौँ’ बर्तौलाले भन्नुभयो ।
चेकजाँचमा खटिएका ट्राफिक प्रहरीद्वारा विभिन्न विद्यालयका बस चालकलाई रोकेर उनीहरूलाई सुरक्षित स्थानमा सवारी रोकेर मात्र विद्यार्थीलाई चढाउने–ओराल्ने, झ्याल–ढोकाबाट हात, टाउको बाहिर निकाल्न नदिने, सिट क्षमता बमोजिम विद्यार्थी राख्ने, तिव्र गतिमा सवारी नचलाउने, मादक पदार्थ लागू पदार्थ सेवन गरी सवारी नचलाउने तथा सधैँ ट्राफिक नियमको पालना गरी सवारी चलाउन सम्झाइ–बुझाई गरिएको बर्तौलाले बताउनुभयो ।
प्रहरी निरीक्षक बर्तौलाले विद्यालयका बसहरूमा साना–साना बालबालिकाहरू रहने हुँदा उनीहरूलाई घरबाट विद्यालय र विद्यालयबाट घरसम्म सुरक्षित रुपमा ल्याउने लैजाने जिम्मेवारी बस चालक र सहचालकको मात्र नभई विद्यालय सञ्चालकको समेत रहेको बताउनुभयो ।
यसैबीच ट्राफिक कार्यालय नवलपुरले ठुलो आवाजमा हर्न बजाउने (प्रेसर हर्न) ठुला सवारी साधन र स्वरूप परिवर्तन गरेर आवाज निकाल्ने मोटरसाइकललाई पनि करवाही गरेको छ । चालु आर्थिक वर्षको चार महिनामा ५५ वटा बस र ट्रकको प्रेसर हर्न निकालेको बर्तौलाले जानकारी दिनुभयो ।
यसैगरी ठुलो आवाज निकाल्ने ५ वटा मोटरसाइकलको साइलेन्सर निकालिएको र चार वटालाई कारवाहीका लागि यातायात कार्यालयमा पठाइएको उहाँले बताउनुभयो । कारवाहीमा परेका मोटरसाइकलले प्रतिमोटरसाकइकल सात हजार ५० रुपिँयाका दरले जरिवाना तिरेको उहाँले जानकारी दिनभयो ।