सिराज खान
नेपालगन्ज, मङ्सिर २ गते । बाँके जिल्लामा सबैभन्दा बढी आयकर तिर्ने करदाता बन्न सफल वेस्टर्न हस्पिटल प्रालि नेपालगन्जलाई आन्तरिक राजश्व कार्यालय नेपालगन्जले सम्मान गरेको छ ।
आर्थिक वर्ष २०८०/०८१ को आय विवरण अनुसार सबैभन्दा बढी आयकर तिर्ने करदाता बनेको घोषणा गर्दै आन्तरिक राजश्व कार्यालय नेपालगन्जले राष्ट्रिय कर दिवस २०८२ को अवसरमा वेस्टर्न हस्पिटल प्रालिलाई सम्मान गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ र आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेले वेस्टर्न हस्पिटलका सञ्चालक डा. विनोदकुमार थापालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्नुभयो ।
नेपालगन्जमा आयोजित शुभकामना आदानप्रदान तथा करदाता सम्मान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले कर प्रणालीमा समयसापेक्ष सुधार आवश्यक रहेको बताउनुभयो ।
उहाँले करदातामैत्री वातावरण बनाउन सबैले भूमिका खेल्नु पर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कबहादुर धामी, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदिप भट्टराई, उद्योग व्यापार महासङ्घ लुम्बिनी प्रदेश अध्यक्ष तारा रोकाय, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, आइक्यान बाँकेका अध्यक्ष तेजप्रकाश दिक्षित, अडानका केन्द्रीय सचिव मोहम्मद जुवेर राई र नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले व्यवसायीले आफै अग्रसर भएर कर तिर्ने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपाने, कर अधिकृतहरू उदयराम केसी र किरण डाँगीले आन्तरिक राजश्व कार्यालयले गरेको प्रगति लगायत जेनजी आन्दोलनको क्रममा प्रयोग नै गर्न नसक्ने गरी आगजनी गरेर राजश्व कार्यालयको भवन जलाइएको बारेमा जानकारी गराउनुभएको थियो ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जको कार्य क्षेत्र बाँके र बर्दिया जिल्ला हुन् ।