अविनाश चौधरी
धनगढी, मङ्सिर २ गते । एकल, द्वन्द्व प्रभावित र सीमान्तकृत महिलालाई आर्थिक रूपले सशक्त बनाउनु पर्ने विषयमा वक्ताहरूले जोड दिनु भएको छ ।
त्यस्ता महिलाको सीप अभिवृद्धिका लागि आयोजना गरिएको बेसार, अर्गानिक तरकारी र राजमा खेतीसम्बन्धी तालिम उद्घाटनका वक्ताहरूले एकल, द्वन्द्व प्रभावित महिलालाई आर्थिक रूपमा सशक्त बनाउनु पर्ने जोड दिएका हुन् । उनीहरूले सिकेकै सीपलाई सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्न सक्ने बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएकी धनगढी उपमहानगरपालिका प्रमुख कन्दकला रानाले सिकेको सीप सदुपयोग गर्न आग्रह गर्नुभयो । उहाँले धनगढीमा हरेक शनिबार लाग्दैै आएको शनिबारीय मेलामा आएर आफ्नो उत्पादन बिक्री गरेर आम्दानी गर्न एकल, द्वन्द्व प्रभावित महिलालाई सुझाव दिनुभयो ।
त्यस्तै, फाया नेपालका अध्यक्ष गोमा आचार्यले एकल, विपन्न महिला कुनै न कुनै काममा पोख्त रहेको भन्दै गरिरहेकै कामलाई व्यवसायमा परिणत गर्नुपर्ने बताउनुभयो । मानव अधिकारका लागि महिला, एकल महिला समूह सुदूरपश्चिम प्रदेशको आयोजनामा एकल, द्वन्द्व प्रभावित र सीमान्तकृत महिलालाई तालिम दिन थालिएको हो ।
समूहका कार्यक्रम अधिकृत वेद अवस्थीले एकल महिला अब आर्थिक रूपमा बलियो हुन आवश्यक रहेको औंल्याउनुभयो । उहाँले सीप सिकेर धेरै एकल महिला उद्यम गरिरहेको बताउनुभयो । उहाँले धनगढीमा एउटा र गोदावरी नगरपालिकामा दुई गरी तीन वटा बेसार सङ्कलन केन्द्र स्थापना गर्ने जानकारी दिनुभयो ।