• १० मंसिर २०८१, सोमबार

आविष्कार केन्द्रलाई एनआरएनएको सहयोग

blog

काठमाडौँ, चैत १० गते । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले राष्ट्रिय आविष्कार केन्द्रलाई ६३ लाख नौ हजार ७२ रुपियाँ बराबरको सामग्री सहयोग गरेको छ । सामाजिक साझेदारीको अवधारणाअन्तर्गत एनआरएनएले खरिद गरेको निर्माण उपकरण, औजार र सवारीसाधन तथा बालुवाटारस्थित एनआरएनए सचिवालयले खरिद गरेका फर्निचर तथा सामग्री केन्द्रलाई सहयोगस्वरूप हस्तान्तरण गरिएको हो । 

ती सामग्री सङ्घले २०७२ वैशाख १२ गतेको विनाशकारी महाभूकम्पपछिको पुनर्निर्माणका क्रममा सुरु गरेको लाप्राक बस्ती विकास आयोजनाका लागि खरिद गरेको थियो । हस्तान्तरण गरिएका उपकरण एवं सामग्री आविष्कार केन्द्रको वीरगञ्जस्थित कृषि औजार कारखाना लिमिटेडको पुनस्र्थापनाका लागि प्रयोग गरिनेछ ।

हस्तान्तरण कार्यक्रममा सङ्घका कार्यकारी अध्यक्ष रविना थापाले वैज्ञानिक तथा समाजसेवी महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेर मुलुकमा वैज्ञानिक अनुसन्धान, सूचना प्रविधि तथा समाजका अन्य क्षेत्रमा राष्ट्रको उन्नति र संवद्र्धनका लागि पु-याएको योगदानको प्रशंसा गर्नुभयो । एनआरएनएले प्रदान गरेका ती उपकरणले प्रविधि र विज्ञानको क्षेत्रमा अतुलनीय योगदान पु-याइरहेको आविष्कार केन्द्रलाई मद्दत पुग्ने उहाँको भनाइ थियो ।  

सङ्घका अध्यक्ष कुल आचार्यले विदेशमा बसेका नेपालीले आविष्कार केन्द्रलाई यथाशक्य सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पुनको सक्षम नेतृत्वमा मुलुकभित्रै विभिन्न आविष्कार भइरहेको प्रति खुसी व्यक्त गर्नुभयो । केन्द्रका संस्थापक पुनले सङ्घको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताउनुभयो । कृषि प्रधान देश भए पनि कृषि औजार बनाउने कारखाना नै तीन दशकदेखि बन्द रहँदा आफूलाई केही गर्नैपर्छ भन्ने महसुस भएकाले वीरगञ्जस्थित कृषि औजार कारखाना पुनः सञ्चालनको योजना अघि सारेको उहाँले बताउनुभयो ।