• २८ चैत २०८२, शनिबार

सितापुर युनाइटेड र राइजिङ स्टार फाइनलमा

blog

प्रतियोगितामा सहभागी खेलाडीहरु ।

कमल खत्री

खजुरा, चैत २८ गते । सितापुर युनाइटेड र राइजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । चैत २९ गते आइतबार दुबै टोलीले प्रतियोगिताको उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सीतापुर युनाइटेडले आयोजक योगिनी युवा क्लब ‘बी’ लाई १–० ले पराजित गरेको थियो । बाँके खजुरा गाउँपालिका वडा २ स्थित योगिनी माविको खेल मैदानमा भएको खेलमा घरेलु टोलीविरुद्ध शम्भु थारुले गरेको एक मात्र गोल निर्णायक बन्यो । 

विपक्षी रक्षक अलमलिएको अवस्थामा थारुले २६ औं मिनेटमा गोल गर्नुभयो । खेलमा सितापुर युनाइटेडका कप्तान राम ओली प्लेयर अफ द म्याच घोषित हुनुभयो । उहाँलाई प्रतियोगितामा आर्थिक सहयोग गर्ने मोती सुनार र पार्वती शाहीले प्लेयर अफ द म्याचको ट्रफी प्रदान गर्नुभयो । 

यसैगरी दोस्रो सेमिफाइनलमा राईजिङ स्टार क्लबले आयोजक योगिनी युवा क्लब ‘बी’ लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको छ । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टीमा राइजिङ स्टारको तर्फबाट प्रख्यात परियार, क्षितिज रानामगर र समिर कसेराले गोल गर्नुभएको थियो । 

योगिनी ‘बी’ को तर्फबाट निराजनजंग शाहीले मात्र गोल गर्नुभयो । खेलमा राइजिङ स्टारको गोलकिपर गोकर्ण पुनले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गर्नुभयो । उहाँलाई प्रतियोगिता आयोजना गर्न सहयोग गर्नुहुने पिमति राना क्षेत्री र नन्दबहादुर खत्रीले पुरस्कृत गर्नुभयो । 

योगिनी युवा क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ । चैतको २९ गतेसम्म चल्ने प्रतियोगितामा मोडल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस् क्लब, मानवी स्पोर्टस् क्लब, २७ स्टार क्लब, राइजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्रज्योती युवा क्लब, केवाइसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको आयोजक योगिनी युवा क्लबका अध्यक्ष कमल पुनले बताउनुभयो । 

प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष पुनले बताउनुभयो ।