• २८ चैत २०८२, शनिबार

सडकबाटै यात्रु तान्ने १८ जना नियन्त्रणमा

blog

गजेन्द्र गुरुङ

खजुरा, चैत २८ गते । बाँके प्रहरीले नेपालगन्जको विभिन्न सडकमा बसेर सडकबाट यात्रु तानातान गर्ने १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगन्जको विभिन्न सडकमा बसेर यात्रुहरुलाई जबर्जस्ती तानातान गरेर हैरानी दिने १८ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

उहाँले नेपालगन्जको बसपार्क, धम्बोझी, पुष्पलाल चोक, वाटरपार्कलगायत स्थानहरुबाट यात्रुलाई तानातान गर्ने, दुःख हैरानी दिने कार्यमा संलग्न १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका –६ का सुरज शर्मा, गेरुवा –३ का दिनेश ऐडी, बाँके खजुरा –३ का अब्जल खान, कृष्ण विक, राजेश भट्टराई र साजन गुरुङ, ४ का विश्वास थापा, ६ का फरमान खान, ७ का राजेश भट्टराई, नेपालगन्ज २ का सुमित अलि र ४ का तिरथ यादव, कैलाली गोदावरी २ का वीरेन्द्र चन्द, लम्कीचुहा १ का मोहन खाण, बाँके जानकी ४ का नारायण ददेल,  कोहलपुर ३ का विकाससिंह ठकुरी, दाङ दङ्गीशरण ३ का रमेश परियार, सुर्खेत मेहलकुना ७ का अवौज भाट र कञ्चनपुर ७ का हर्के थापा रहेका छन् ।  

लामो समयदेखि नेपालगन्जको धम्बोझी चोक, पुष्पलाल चोक, वाटरपार्क क्षेत्र, वसपार्क क्षेत्र लगायत स्थानबाट सडकमार्ग भएर पैदल, रिक्सामा यात्रा गर्ने यात्रुहरुलाई जबर्जस्ती तान्ने, दुःख दिने र हैरानी गराउने गर्दैआएको प्रहरीले जनाएको छ ।

ती स्थानहरुबाट लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रुहरुलाई चढाउनका लागि सडकमै रिक्साको पछाडि झुण्डिने, सडक यात्रुलाई जबरर्जस्ती तान्ने लगायतका गलत काम हुँदै आएको थियो ।