• २८ चैत २०८२, शनिबार

बुवा बचाउन हिँडेका छोराको एम्बुलेन्स दुर्घटनामा मृत्यु

blog

दुर्घटनामा ज्यान गुमाउनुभएका भीमबहादुर अधिकारी र शक्तिबहादुर शाही । तस्बिर : नेत्र शाही

जुम्ला समाचारदाता

जुम्ला, चैत २८ गते । जुम्लाको हिमा गाउँपालिका–६ का भीमबहादुर अधिकारीले ७१ वर्षीय बुवा कलबहादुरको उपचारका लागि बुधबार एम्बुलेन्समा सुर्खेत हुँदै नेपालगन्जको यात्रा तय गर्नुभयो । झन्डै एक हप्ता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गर्दा पनि सुधार नभएपछि चिकित्सकले कलबहादुरलाई न्युरो सर्जरीका लागि नेपालगन्ज ‘रिफर’ गरेका थिए ।

बुवालाई अस्पताल लैजान भीमबहादुरले सुरुमा जहाजकै प्रतीक्षा गर्नुभयो । मौसम प्रतिकूलताका कारण उडान हुन नसकेपछि उहाँले एम्बुलेन्सको सहारा लिनुभयो । बुधबार दिउँसो १ बजे उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको थियो, “आज जुम्लादेखि सुर्खेत यात्रा शुभ रहोस्, जुम्लामा हवाईजहाज नआएर एम्बुलेन्समै लागियो ।” बुवालाई निको बनाएर घर फर्काउने सपना बोकेर कर्णाली राजमार्गको यात्रामा निस्कनुभएका भीमबहादुरको त्यो सपना बाटोमै बिलायो ।

कालीकोटमा एम्बुलेन्स दुर्घटना हुँदा भीमबहादुर र चालक शक्तिबहादुर शाहीको ज्यान गएको छ । प्रहरीका अनुसार जुम्ला सदरमुकाम खलङ्गाबाट छुटेको क.प्र. ०१–००१ झ ००२४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो । सोही दुर्घटनामा बिरामी बुवा कलबहादुर भने घाइते हुनुभएको छ । प्रहरीले उहाँलाई घाइते अवस्थामा उद्धार गरेको थियो ।

बाक्लो हुस्सुका कारण सडक स्पष्ट नदेखिँदा एम्बुलेन्स सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ । साँघुरो सडक र भौगोलिक कठिनाइका कारण कर्णाली राजमार्गमा बारम्बार यस्ता दुर्घटना हुने गरेका छन् ।

कलबहादुरलाई थपिएको पीडा

दुर्घटनामा गम्भीर घाइते हुनुभएका कलबहादुर अधिकारीलाई कालीकोट अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ । यो दुःखद घटनाले हिमा गाउँपालिका शोकमग्न बनेको छ । गाउँपालिकाले चैत २६ गते शोक बिदासमेत दिएको अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रदेश अस्पतालकी सूचना अधिकारी अनिता ज्ञवालीका अनुसार कलबहादुरको खुट्टाको हड्डी दुई ठाउँमा भाँचिएको छ र उहाँलाई हाल सघन उपचार कक्ष (आइसियु) मा राखिएको छ । उहाँलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको छ ।

आफ्नो उपचारका लागि कुरुवा भएर हिँडेको सहारा नै अस्ताएपछि कलबहादुर विक्षिप्त बन्नुभएको छ । अस्पतालको शय्याबाट पीडा पोख्दै उहाँले भन्नुभयो, “भगवान्ले मलाई नै लगेको भए हुन्थ्यो, मेरो सहारा छोरा नै दुर्घटनामा बित्यो, अब कसरी बाँच्ने होला ?”