• २८ चैत २०८२, शनिबार

बर्मालाई मिस्टर कपिलवस्तुको उपाधि

blog

बर्मालाई ट्रफी र नगद प्रदान गरिदै । तस्बिरः नारद कोहार

नारद कोहार

तौलिहवा (कपिलबस्तु), चैत २८ गते । कपिलबस्तु तौलिहवाका सुरेन्द्र बर्माले मिस्टर कपिलवस्तु २०८२ को उपाधि हात पार्नुभएको छ ।  शारीरिक सुगठन तथा फिटनेश सामाजिक संस्थाले तौलिहवामा आयोजना गरेको मिस्टर कपिलवस्तु शारीरिक सुगठन प्रतियोगीतामा उहाँ बिजेता घोषित हुनुभएको हो ।  

उपाधीसँगै उनले ट्रफी र नगद ५० हजार प्राप्त गर्नुभयो । बर्मालाई ट्रफी र नगद शिवराज नगरपाकिलाका नगर प्रमुख अजय थापाले हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै नगर प्रमुख थापाले कुलतमा फसेका युवाहरुलाई आफ्नो शरीर फिट राख्नका लागि शारीरिक सुगठनमा लाग्न आवश्यक रहेको बताउनुभयो ।

यस्ता प्रतियागिता आफ्नो पालिकाले समेत आगामी दिनमा राख्ने उहाँले प्रतिबद्धा ब्यक्त गर्नुभएको छ । प्रतियोगीता ६०, ६५, ७० र ७० माथि गरी चार तहमा राखिएको थियो । आफ्नो उमेर समूहमा प्रथम भएका चार प्रतियोगीहरुको अन्तिम प्रदर्शनमा बर्मालाई निर्णायकले मिस्टर कपिलवस्तु घोषित गरेका थिए ।

२०७२ सालमा समेत बर्मा मिस्टर कपिलवस्तु बन्नुभएको थियो । ६० केजी तौल समुहमा बुद्ध जिमका खेलाडी महसुद अली दर्जी प्रथम तथा पावर जिमका सम्साद मुसलमान द्वितीय र अलफाज खा तेस्रो हुनुभयो ।  

यस्तै ६५ केजी तौल समुहमा सुरेन्द्र बर्मा प्रथम, शैलेन्द्र प्रसाद कसौधन दोश्रो तथा योगमणि तिवारी तेश्रो भएका । ७० केजी तौल समुहमा बिकास श्रेष्ठ प्रथम, सुग्रीव कुर्मी दोश्रो र बिरु यादव तेश्रो भएका हुन् । 

यसैगरी ७० किलोमाथी तौलमा ईश्वर पुन प्रथम, मोहम्द ईस्तेखार हलुवाई दोस्रो र शैलेन्द्र श्रीमाल तेस्रो भएका छन् । तौल समूहमा प्रथम, द्वितीय र तृतीय भएकाहरुलाई नगद क्रमशः १० हजार, ७ हजार र ५ हजारका साथै मेडल प्रदान गरिएको छ । 

बिजेताहरुलाई कपिलवस्तु नगरपालिका –३ का अध्यक्ष प्रकाश गैरे, पूर्व मिस्टर नेपाल जीवन गिरी, पत्रकार महासंघका पूर्व जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, प्रकाश घिमिरे, फिटनेश संघका जिल्ला सचिव मनिष कार्की लगायतले पुस्कार बितरण गर्नुभयो । कार्यक्रम फिटनेश संघका जिल्ला अध्यक्ष कृष्ण थापा थापाको अध्यक्षता भएको थियो ।