• २८ चैत २०८२, शनिबार

एकै दिन सात हजारले गरे पाथीभरा दर्शन

blog

शनिबार पाथीभरा दर्शन गर्नलाई लाइन लागेका भक्तजन । तस्बिर सौजन्यः राजेन्द्र महत

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत २८ गते । शनिबार एकै दिन सात हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेका छन् । केही दिनयता मौसममा सुधार हुन थालेसँगै पाथीभरामा उल्लेख्य भक्तजन आउन थालेका हुन् ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार सात हजार २२ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । उक्त सङ्ख्या हालको सिजन (मौसम) कै बढी भएको समितिले जनाएको छ । समितिका अनुसार चैते दसैँ अर्थात रामनवमी पर्वको समयमा पाथीभरा दर्शन गर्ने भक्तजन उल्लेख्य रुपमा आउन थालेका छन् ।

दसैँ–तिहारपछि अहिलेको मौसमलाई पाथीभरा दर्शन गर्ने एक मुख्य सिजन (मौसम) मानिन्छ । सोहीअनुसार हिजोआज पाथीभरामा भक्तजन उल्लेख्य रुपमा आइरहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । 

कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरा दर्शन गर्ने मौसम सुरु हुनासाथ अर्थात चैतको पहिलो साताको अन्त्यदेखि निरन्तर वर्षा भएकाले दर्शनार्थीलाई केही असर पुगेको थियो । निरन्तरको वर्षा र हिमपातले पाथीभरा दर्शन गर्न आउने भक्तजनलाई केही असर पुगेको र पछिल्लो सातादेखि मौसममा केही सुधार आएसँगै भक्तजनको भिड बढ्न थालेको समितिले जनाएको छ ।

समितिका अनुसार चैत महिना यता शुक्रबारसम्ममा ३६ हजार ७३६ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । शुक्रबारसम्मको उक्त सङ्ख्या र शनिबारको समेत गरी चैत महिनामा अर्थात शनिबारसम्ममा पाथीभरा दर्शन गर्ने भक्तजनको ४३ हजार ७५८ पुगेको छ ।

यता, पाथीभरा दर्शनमा आउने भक्तजनको सङ्ख्या बढ्न थालेसँगै सदरमुकाम फुङ्लिङसहित पाथीभरा क्षेत्रका होटलहरु भरिभराउ भएका छन् । उल्लेख्य आउजाउ भइरहेको भक्तजनकै कारण जिल्लामा सवारी चाप बढ्नुका साथै फुङ्लिङ बजार, सकुटार क्षेत्र लगायतमा मानिसको चहलपहल बढेको छ । 

यतिबेला पाथीभरा दर्शन गर्नलाई देशको विभिन्न जिल्लाबाट भक्तजनहरु आइरहेका छन् । त्यस्तै, नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतको ठाउँबाट पनि पाथीभरा दर्शनका लागि उल्लेख्य भक्तजन आइरहेका समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिनुभयो ।