ठाकुरप्रसाद आचार्य
म्याग्दी, चैत २८ गते । म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्षको बजेटमा कटौती गरेको छ । गाउँसभाबाट पारित बजेटभन्दा ३ करोड ८५ लाख ६३ हजार रुपियाँ घटाइएको हो ।
गत असारमा सम्पन्न भएको गाउँसभाबाट पारित भएको ५७ करोड ५४ लाख रुपियाँको बजेटलाई शनिबार सम्पन्न भएको २० औं गाउँ अधिवेशनले ५५ करोड ६८ लाख ३६ हजार रुपियाँ घटाएर बजेट पारित गरेको हो ।
गाउँपालिकाको आन्तरिक आम्दानी तथा विभिन्न स्रोततबाट प्राप्त हुने बजेट अनुमान गरेकोभन्दा कम प्राप्त भएपछि बजेटलाई संशोधन गरिएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘गत असारमा सम्पन्न गाउँसभामा अनुमानित गरेकोभन्दा कम राजस्व संकलन, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानमा कटौती लगायतका कारण बजेटलाई संशोधन गर्नुपरेको हो ।’’
अधिवेशनमा महालेखा परीक्षकको कार्यालयबाट गत आर्थिक वर्ष २०८०–८१ को प्रतिवेदनमा औँल्याइएका बेरुजु फछ्र्योट तथा सुधारको विषयमा छलफल गरिएको अध्यक्ष आचार्यले बताउनुभयो ।
यसैबिच गाउँपालिकाले लुङ्गदी आधारभूत विद्यालयमा कक्षा ९ सञ्चालन गर्न अनुमति प्रदान गरेको छ । उक्त विद्यालयका विद्यार्थीलाई कक्षा ९ अध्ययनका लागि अन्यत्र जानुपर्ने बाध्यता भएपछि गाउँपालिकाले कक्षा विस्तारको निर्णय गरेको उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनुभयो ।
अधिवेशनको अवसरमा गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान दिने ३२ जना व्यक्तित्वलाई सम्मान समेत गरेको छ । उत्कृष्ट करदाता, उपभोक्ता समिति, जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न संस्थालाई सम्मान गरिएको हो ।
अधिवेशनमा अध्यक्ष आचार्यले चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण पनि प्रस्तुत गर्नुभएको थियो । हालसम्म पूँजीगत खर्च २२ प्रतिशत र चालु खर्च ५३ प्रतिशत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले जानकारी दिनुभयो । गाउँसभाबाट पारित योजना तथा कार्यक्रमहरु सम्झौता भई कार्यान्वयनको चरणमा रहेको र केही योजनाहरु सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।