राजन रावत
हुम्ला, चैत २८ गते । हुम्लाबाट ४२ प्रकारका जडिबुटीहरू जिल्ला बाहिर निकासी भएका छन् । जिल्लामा उत्पादन हुने यी जडिबुटी चालु आर्थिक वर्षमा सङ्कलन भएर नेपालगन्जसम्म निकासी भएका हुन् ।
स्थानीयको मुख्य आम्दानीको रूपमा रहेको यसवर्ष बयालीस प्रकारका जडिबुटी जिल्लामा सङ्कलन भएर निकासी भएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले बताउनुभयो । यी जडिबुटीहरू सबैभन्दा बढी निकासी भएको जटामासी २९ हजार चार सय केजी निकासी भएको र सबैभन्दा कम सुनपाती १० केजी निकासी भएको उहाँले बताउनुभयो ।
सबै प्रकारका जडिबुटी गरी जिल्लाबाट एक लाख २३ हजार ९८५ केजी निकासी भएको उहाँले बताउनुभयो । हुम्लाबाट सबैभन्दा बढी जटामासी निकासी हुने गर्छ । तर यसको वातारणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार नभएको कारण जानुपर्ने कोटाभन्दा न्यून निकासी गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
सो प्रतिवेदन तयारी भएको भए पनि जिल्लाबाट जटामासी मात्र तीन लाख ४० हजार केजी बर्सेनि निकासी गर्न सकिन्थ्यो । यस वर्ष सो प्रतिवेदन तयार पार्ने कार्य भइरहेको बताउदै उहाँले अर्को आर्थिक वर्षमा यो समस्या नहुने बताउनुभयो ।
मुख्यगरी हुम्लाबाट बढी परिणाममा निकासी हुने जडिबुटीमा जटामासी, धुपी, सेतक चिनी, वन लसुन, कुट्की, शिलाजित, पाषणवेद, गन्धाइनो, सुगन्धवाल, विषजरा, कालादाना, काकारसिलो, सुनपाती, अतिस, भुतकेस, झ्याउ, भोजपत्र, पदमचाल, डालेचुक, घोडेमच्चा लगायतका रहेका छन् ।
नयाँ प्रतिवेदन तयार भएर कार्यान्वयनमा आएपछि निकासी हुने जडिबुटीको सङ्ख्या पनि वृद्धि हुने कार्यालयले जनाएको छ । यी जडिबुटीबाट ३९ लाख २३ हजार २२५ रुपियाँ राजस्व असुली भएको छ । राजस्वमा सबैभन्दा बढी जटामासीको प्रतिकेजी ७५ रुपियाँ कायम छ भने सबैभन्दा कम डालेचुकको प्रतिकेजी दुई रुपियाँ रहेको छ ।