काठमाडौँ, चैत ९ गते । स्वदेशी धागो निर्यात गर्न बङ्गलादेशले फूलबारी बङ्गलाबन्ध नाका खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले धागो निर्यात गर्न एक महिनाअघि नाका खुुला भएको जानकारी दिनुभयो ।
लामो समयदेखि बन्द रहेको फूलबारी बङ्गलाबन्ध नाका खुला भएको हो । नाका खुला भएसँगै नेपाली व्यवसायीलाई धागो निर्यात गर्न सहज हुने भएको छ ।
बेनापोल (बङ्गलादेश)–पेट्रापोल (भारत) नाका खुला भए पनि नेपाली व्यवसायीलाई सामान पठाउन टाढा हुँदा लागत महँगो पर्ने गरेकाले धागो निर्यात हुन सकेको थिएन । भारतले फूलबारी–बङ्गलाबन्ध नाका नेपाल–बङ्गलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ हो । पूर्वी नाका काँकडभिट्टाबाट करिब ८० किलोमिटरको दूरीमा बङ्गलादेश रहेको छ ।
प्रवक्ता रेग्मीले बङ्गलादेशमा स्वदेशी धागो निर्यातको पर्याप्त सम्भावना भएकाले नाका खुला भएसँगै व्यवसायीलाई निर्यात गर्न सहज भएको जानकारी दिनुभयो । बङ्गलादेशमा धागो निर्यात बढाएर व्यापार घाटा कम गर्न सकिने धारणा व्यक्त गर्दै उहाँले व्यवसायीलाई निर्यातमा केही समस्या भए तत्काल समाधान गर्न पहल गरिने उहाँले जानकारी दिनुभयो । सो नाका सन् २००२ देखि बन्द थियो तर बीचमा कहिले बन्द र खुला हुने भएको थियो ।
नेपाली धागो निर्यात गर्न बङ्गलादेशले काँकडभिट्टा हुँदै बङ्गलाबन्धको नाका खुला गरे पनि व्यवसायीले प्रक्रिया स्पष्ट नभएको भन्दै निर्यात सुरु गरेका छैनन् । भारततर्फको नाका पेट्रापोल नेपालबाट टाढा भएको र समुद्री मार्गबाट सामान पठाउँदा ढुवानी लागत नै महँगो पर्ने भएकाले व्यवसायीले सामान पठाएका थिएनन् । नेपाल धागो उत्पादक सङ्घका सचिव उत्तम गौतमले बङ्गलादेशमा धागो निर्यात गर्न नाका खुला भए पनि सामान कसरी पठाउने प्रक्रिया स्पष्ट नहुँदा धागो निर्यात गर्न नसकिएको जानकारी दिनुभयो ।
धागो निर्यातका लागि नाका खुला गरेको जानकारी आयो तर कार्यविधि स्पष्ट नहुँदा गुणस्तर देखाएर बीचमै सामान रोकिएर फिर्ता आउँछ कि भनेर पठाउन नसकेको उहाँले बताउनुभयो । “मन्त्रालयले समन्वय गरेर सामान निर्यातका लागि प्रक्रियागत प्रणाली स्पष्ट पारिदिए तत्काल सामान पठाउन सक्छौँ,” उहाँले भन्नुभयो ।
धागो निर्यात हुन थालेको पहिलो वर्ष नै बङ्गलादेशमा पाँच अर्बदेखि सात अर्ब रुपियाँ र दुई वर्षभित्रमा वार्षिक २० अर्ब रुपियाँ बराबरको धागो निर्यात गर्न सकिने उहाँले जानकारी दिनुभयो ।
अहिले टर्की, भारत, युरोपमा धागो निर्यात हुने गर्छ । युरोपबाट अन्य देशमा समेत निर्यात हुने गरेको सङ्घको भनाइ छ । सङ्घका अनुसार हाल नेपालबाट वार्षिक २० देखि २२ अर्ब रुपियाँ बराबको धागो निर्यात निर्यात हुने गरेको छ ।
पचास हजार टन उत्पादन
सङ्घका अनुसार नेपालमा वार्षिक ५० हजार टन धागो उत्पादन हुने गरेको छ । यसमा १५ हजार टन धागो आन्तरिक खपत र बाँकी निर्यात हुने गर्छ । धागोका लागि आवश्यक कच्चा पदार्थ चीन, थाइल्यान्ड, इन्डोनेसियालगायतका मुलुकबाट आयात गरी व्यवसायीले मूल्य अभिवृद्धि गरेर पुनः निर्यात गर्छन् । कच्चा पदार्थ आयात गरी ३० देखि ५० प्रतिशत मूल्य अभिवृद्धि गरेर धागो निर्यात गर्ने गरेको व्यवसायीको भनाइ छ । यो फाइबर र कटन मिसाएर धागो तयार गरिन्छ ।
नेपालमा धागो प्रशोधन गर्ने चारवटा उद्योग सञ्चालनमा छन् । यसमा करिब १५ अर्ब रुपियाँ लगानी र १० हजारलाई प्रत्यक्ष रोजगारी दिँदै आएका छन् ।
धागो निर्यातको प्रमुख गन्तव्य बङ्गलादेशले प्रतिबन्ध लगाएपछि नेपालका उद्योग यसबाट प्रभावित हुँदै आएका थिए । बङ्गलादेश सरकारको निर्णयसँगै नेपाली धागो व्यवसायीहरुलाई राहत मिलेको छ ।
एघार अर्ब आयात, ७२ करोड निर्यात
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो आठ महिनामा बङ्गलादेशबाट चार अर्ब ४० करोड सात लाख ४८ हजार रुपियाँको सामान आयात भएकामा ३१ करोड २५ लाख ६ हजार रुपियाँको सामान निर्यात भएको छ । विभागका अनुसार आव २०७८/७९ मा ११ अर्ब २० करोड ६१ लाख पाँच हजार रुपियाँको सामान आयात भएकामा नेपालबाट ७२ करोड ६५ हजार रुपियाँको सामान निर्यात भएको छ ।
बङ्गलादेशबाट ठूलो परिमाणमा सामान आयात भए पनि नेपालबाट न्यून निर्यात हुँदा बङ्गलादेशसँग व्यापार घाटा १० अर्ब ४८ करोड ५५ लाख रुपियाँ रहेको छ । नेपालबाट बङ्गलादेशमा दाल, जडीबुटी, धागो, अम्रिसो, चाउचाउ, नेपाली कागजलगायतका अन्य उत्पादन निर्यात हुने गरेको छ । बङ्गलादेशबाट जुट, आलु, प्लास्टिकजन्य सामग्री, वासिङ मेसिन, औषधि, भटमासको दाना र पिना, मेसिनरी सामग्री, ब्याट्री, तयारी कपडा, टिस्यु पेपरलगायत आयात हुने गर्छ ।