• १४ जेठ २०८१, सोमबार

जहाँ छन् बुद्धका आँखा

blog

जहाँ छन् बुद्धका आँखा (२०७८) कवि बमबहादुर थापा ‘जिताली’को नवप्रकाशित गीतिकविताहरूको सङ्ग्रह हो । ‘जिताली’को यो कृति रचनाको प्रकृतिका आधारमा खण्ड क, खण्ड ख, खण्ड ग र खण्ड घ गरी चार भागमा विभक्त छ ।  यसरी समग्रमा यस कृतिमा अधिकांश एक पृष्ठका र केही दुईदेखि चार पृष्ठसम्मको आयामका १५३ वटा रचना समाहित छन् । प्रस्तुत कृतिभित्र खण्ड ग अन्तर्गत पहिलो क्रममा सङ्गृहीत जहाँ छन् ब ुद्धका आँखा शीर्षकको रचनाबाट यस कृतिको नामकरण गरिएको छ । यो रचना भक्तराज आचार्यको स्वरमा गाइएको सुप्रसिद्ध गीत पनि हो ।

कृतिको आरम्भ सरस्वती वन्दनाबाट भएको छ भने क्रमशः जयजय राष्ट्रदेव (शिव भजन), लेकबेँसी सुसेलेर (राष्ट्र वन्दना) जस्ता ईश्वर र राष्ट्र भक्तिभाव मुखरित भएका रचना रहेका छन् । यसमा राष्ट्रिय गान र जागृति गानसँग सम्बन्धित रचना पनि रहेका छन्  । रचनाहरूको प्राचुर्यका साथै यी रचनामा विषयवस्तुको वैविध्य पनि छ । ईश्वरभक्ति, स्वदेशप्रेम, मानवीय प्रेमानुभूति, प्राकृतिक मनोहरता, संस्कृतिको महŒव, ऋतुहरूको वर्णन, विकासका लागि आह्वान, सङ्गीतप्रतिको सम्मोहन, जीवनका जटिलता, महँगी, भ्रष्टाचार, नेताहरूमा निहित स्वार्थी चरित्र, नारीप्रति श्रद्धा, नयाँ वर्षको शुभकामना, विश्व शान्तिका लागि आह्वान, जन्मभूमिप्रति श्रद्धा, शहीदप्रति सम्मान,  पुर्खाहरूको योगदानको प्रशंसा, पद, पैसा र पावरका लोभीहरूको चर्चा, कोरोनाका प्रसङ्ग, भूकम्पको सवाई, धूमपानबाट हुने हानिको सन्देशजस्ता अनेकौँ कथ्य यसभित्रका रचनामा पाइन्छन् । कविले सामाजिक, राजनीतिक तथा मानवीय स्वभावमा देखिँदै आएका विभिन्नखाले विकृति–विसङ्गति र विद्रूपताहरूको चित्रण पनि स्वाभाविक ढङ्ले गरेका छन् । भ्रष्टाचार, दुराचार, कालो व्यापार, घुसखोरी, कमिसनतन्त्र, नेताहरूका कुकृत्य, कर्मचारी वर्गका बदनियत आदिको खुलेर विरोध गरिएका पङ्क्तिहरू यहाँ भेटिन्छन् । गीति कविता भए पनि यी रचनामा नराम्रा प्रचलन र प्रवृत्तिउपर प्रहार गरिएका व्यङ्ग्यात्मक र प्रतीकात्मक भावहरू प्रशस्त पाइन्छन् । 

  कवि जिताली मूलतः गीतिलय र पिङ्गल छन्दका कवि हुन् । यस कृतिमा समग्रतः यिनका गीतिचेतबाट उत्पादित रचनाहरू समाहित छन् । यिनमा समय र समाजलाई प्रतिविम्बन गरिएका, राष्ट्रप्रेमको अनन्त भाव पोखिएका, प्रकृतिको सुन्दर ढङ्गले चित्रण गरिएका, मानवीय सद्भावको सन्देश दिइएका, वातावरण जोगाउनका लागि सचेत गराइएका, वीरहरूप्रति श्रद्धा प्रकट गरिएका सुललित गीतरचनाहरू  छन् । आदिकवि भानुभक्त, कविशिरोमणि लेखनाथ, महाकवि लक्ष्मीप्रसाद, युगकवि सिद्धिचरण, राष्ट्रकवि माधव, धर्मराज थापालगायतका केही विशिष्ट स्रष्टाहरूका साथै अन्य भाषा, साहित्य, शिक्षा, समाज सेवा जस्ता क्षेत्रमा योगदान पु-याएका व्यक्तित्व र केही सेवामुखी संस्थाहरूलाई विषय बनाएर रचिएका रचनाहरू पनि यस कृतिमा रहेका छन् ।

जापानी हाइकु, चोका र कोरियाली सिजोसँग मिल्ने आक्षरिक लयको प्रयोग भएका केही रचनाले यस कृतिभित्र ठाउँ पाएका छन् । सुसेली, साइनो जस्ता नेपालीमा सुरूप भएका नवप्रविधाहरू पनि यसभित्र रहेका छन् । यसरी नै स्वतन्त्र गजल भनिएको रचना र आधुनिक गीत, मुक्तकजस्तै लाग्ने चार चतुष्पदी पनि यसभित्र समेटिएका छन् । कृतिका सबैजसो रचना गेयगुणयुक्त छन् ,सरल र सुमधुर छन् । यिनमा कतै पनि शब्दको कठोरता र भावार्थको जटिलता पाइँदैन । वर्णविन्यासगत त्रुटि कतैकतै देखिनु तथा कतिपय रचनामा भावको र कतिपयमा त पदावली तथा सिङ्गै पङक्तिहरूकै पुनरावृत्ति हुनुलाई यसका सीमाका रूपमा लिन सकिन्छ । समग्रमा यो कृति पठनीय छ । नेपाली गीतिकविता परम्परामा यस कृतिलाई एउटा पृथक् उपलब्धि मान्न सकिन्छ । 

कृति : जहाँ छन् बुद्धका आँखा

विधा : गीतिकविता

कवि:  डा. बमबहादुर थापा जिताली

प्रकाशक:  मञ्जुश्री साहित्यिक समाज, काठमाडौँ

प्रकाशन:   २०७८ 

पृष्ठ: १७६

मूल्य : रु. ५००÷–


Author

डा.. घनश्याम न्यौपाने ‘परिश्रमी’