• १३ असोज २०८१, आइतबार

हात्ती धपाउन वनमा डढेलो

blog

फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल

दमक, चैत २ गते । झापाको मेचीनगर नगरपालिकाको चारआलीसहित विभिन्न सामुदायिक वनहरूमा पछिल्लो समय डढेलो लाग्नेगरेको छ । स्थानीय हातेमालो सामुदायिक वन अन्तर्गतको जङ्गल क्षेत्रमा निरन्तर आगो लागिरहेको र नियन्त्रण गर्न नै मुस्किल हुनेगरेको बताइएको छ । सो क्षेत्रमा हात्तीले दुःख दिन थालेपछि स्थानीयले नै वनमा डढेलो लगाएको हुन सक्ने आशङ्का गरिएको छ ।  

समितिका अध्यक्ष चन्द्रप्रसाद सिग्देलले वन समितिका पदाधिकारी तथा वन हेरालु डढेलो नियन्त्रण गर्न लागिपरेको बताउनुभयो । हामी सधैँ वन क्षेत्रभित्र लागेको आगो नियन्त्रणमा लागिरहेका छौँ, सिग्देलले भन्नुभयो । हावाहुरीका कारण डढेलो चाँडो सल्कने गरेको बताइएको छ ।

वनमा सुकेका पात पतिङ्गर अत्यन्तै धेरै भएकाले नियन्त्रणमा समस्या आउनेगरेको जन समितिका सदस्यहरूले बताउने गरेका छन् । एकातिर निभाउँदा अर्कातिर लागिरहेको हुन्छ, उहाँले भन्नुभयो । हामी रातको ११ बजेसम्म जङ्गलमा नै आगो निभाइरहेका हुन्छौँ, सिग्देलले भन्नुभयो । 

यसभन्दा अघि मेचीनगर नगरपालिकाको नै तेलपानी सामुदायिक वनमा लामो समयसम्म डढेलो लागेर नियन्त्रणमा आएको थियो । स्थानीय कोषराज भट्टराईका अनुसार बारम्बार सरोकारवालासँग हारगुहार गर्दा डढेलो नियन्त्रणमा आएको र यसले ठूलो क्षति गरेको छ । 

पछिल्लो समय जिल्लामा जङ्गली हात्तीले धेरै नै असर गर्न थालेपछि जङ्गली हात्तीबाट बच्न कतिपय स्थानीय उपभोक्ताले नै जङ्गलमा डढेलो लगाएको हुनसक्ने समेत वन समूहका पदाधिकारीले बताउनुभएको छ । आगो सल्केपछि हात्ती गाउँमा नपस्ने सोचले यस्तो गरेको हुनसक्छ, वन समूहका एक पदाधिकारीले भन्नुभयो ।

भारतबाट दर्जनौँको सङ्ख्यामा हुल बाँधेर आउने जङ्गली हात्तीहरू स्थानीय जङ्गलमा बस्ने र रातको समयमा आहाराको खोजीमा गाउँबस्तिमा गएर ठूलो क्षति गर्नेक्रम यस क्षेत्रमा बारम्बार हुँदैआएको छ । हात्ती नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन नहुँदा हात्ती पीडितहरूले जोखिमयुक्त काम पनि गर्दैआएका छन् ।

झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा पर्ने रतुवामाई वृक्षारोपण आयोजनाको जङ्गलमा पनि डढेलो लागेको थियो । केर्खाबजारदेखि उत्तर केही दिन अघिदेखि डढेलो लागेको हो । अधिकांश डढेलो लापरबाही तथा हेल्चेक्राईका कारण लागेको समेत बताइने गरेको छ ।

वनमा डढेलो लगाउँदा वन्यजन्तुको वासस्थान मासिने, आगो गाउँबस्तिमा पनि आउन सक्ने, स्थानीयको स्वास्थ्यमा नै प्रतिकुल असर पर्ने विषयमा उपभोक्तालाई जानकारी गराउनुपर्ने अवस्था देखिएको दमकस्थित हम्सदुम्से सामुदायिक वनका पूर्व अध्यक्ष हिमालयप्रसाद दाहालले बताउनुभयो ।