• ६ जेठ २०८१, आइतबार

कविता यात्राको सुललित संस्मरण

blog

कताकता कहाँकहाँ सुनेजस्तोे पढेजस्तो कविताहरूको सङ्ग्रहमाथिको सङ्ग्रह रै’छ यो पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ । अझ भन्नुपर्दा आठवटा कविता सङ्ग्रहहरूबाट छानिएका कविताहरूको सँगालो हो यो । सम्भवतः बेलीचमेली वा पारिजात सुवास छर्दै बाटो हिँड्ने एक त्यस्ता व्यक्तित्व कवि हृदयका वासु शशीका कविताहरूको सङ्ग्रह हो ।

पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ

यद्यपि यो हो कि

पर्खाल राम्रो पनि बन्न सक्छ, त्यसमा लहराहरू लाग्छन्,

यद्यपि यो हो कि

पर्खालभित्र जे जति पर्छ, त्यो आफ्नो हुन्छ,

सुरक्षित रहन्छ,

पर्खाल सायद नभई हुन्न

मानो, देवता हो त्यो

किन्तु पर्खाल पर्खाल मात्रै हो

त्यो आकाशमा पुग्न सत्तैmन

र, भित्र पस्नेहरू त त्यसलाई उक्लने पनि हुन्छन्

र, पर्खाल, त्यो भत्कन पनि सक्छ । 

(पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ, पृ.७)

विभिन्न कालखण्डमा लेखिएका आठवटा कविता (गीत, मुक्तक र कविता) सङ्ग्रहहरू जस्तै यौटा यस्तो फुल चाहिन्छ, वासु शशीका कविता, यौटा नदी छ म आफैभित्र, केही कविता, मेरी उषा, पानी गल्दैन, जहाँबाट तिमी आइनौ, मान्छेको हृदयबाट गएको मान्छे गरी   ११८ वटा रचनाहरू सङ्गृहीत गरेर कविता सङ्ग्रहको पनि महासङ्ग्रहमा दरिएको पाइयो यो पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ शीर्षकको कृति । 

गजबका विम्ब प्रतीकहरूका कविताजस्तै बाँच्ने कवि वासु शशी स्वयं कविता हुन् । 

कविता परिभाषामा अन्तर्निहित रहने विधा हैन । न कसैले बाँधेर बाँधिने नै हो । यो ब्रह्माण्डजस्तै विराट् र सागरजस्तै अन्त्यहीन हुन्छ, स्वतन्त्र हुन्छ । कवि वासु शशीका कविताहरू विश्वको हरेक कुनाकन्दरामा आफ्नै शैलीमा व्याप्त हुने कविता शिल्पजस्तै व्यापक रहेकोमा कुनै शङ्गा छैन । अतः कविता स्वतन्त्रतामै जन्मने–हुर्कने कला हो, सत्यम् शिवम् सुन्दरम् हो भन्ने माथिका दुई उद्धरणबाट पनि प्रष्ट हुन आउँदछ ।

सरल, मिलनसार र सबैको कुरा सुनिदिने गोरो एवं अग्ला व्यक्तित्वका वासु शशीको यस सङ्ग्रहभित्रका कविता, मुक्तकका शीर्षकहरू ओठले पढ्नु र कानले सुन्नुमा कति महको मिठास घुल्दछ भन्ने थाहा पाउन एक पटक सर्सर्ती पढ्नै पर्ने हुन्छ कविताका पारखीहरूलाई । 

कविताहरू क्लिष्ट हुँदै आए, सरल, कलात्मक र बोधगम्य नभएको मोहन कोइरालाजस्ता क्लिष्ट कविको कालमा पनि सरल सुललित, मानवतावादी भाषिक कलाको अपूर्व संयोजन भएका कविताहरूको सिर्जना गर्ने एक मात्र सर्जक वासु शशी नै हुन् । जीवन आफ्नै रङ्गमञ्च हो र जीवनप्रतिको जिजीविषा बोकेका आफ्ना सन्ततिजत्तिकै प्यारा गरी रचिएका छन् रचनाहरू । जसलाई पढ्ने पाठकहरूले त्यो उचाइमा उडान भर्ने कुरामा विश्वस्त हुन सक्छौँ ।  

पुस्तक:  पर्खाल लगाएपछि धेरैथोक बाहिर पर्छ

विधा :  कविता सङ्ग्रह

कवि :  वासु शशी

आवरण:  सचिन यगोल श्रेष्ठ

प्रकाशक : बुकहिल पब्लिकेसन प्रालि. 

प्रकाशन:  २०७८  

पृष्ठ :  २४८  

मूल्य  : रु. ५५५।–


Author

सानुराजा श्रेष्ठ अञ्जान