• १४ जेठ २०८१, सोमबार

निबन्धमा नयाँ स्वाद

blog

मूलतः समालोचना र निबन्ध विधामा निरन्तर सक्रिय रहेका व्यक्तित्वको नाम हो– गोपी मैनाली । निजामती सेवाको उच्च ओहोदामा पुगेर हाल अवकाश प्राप्त जीवन बिताइरहेका मैनालीको ३८ वर्षको समय अन्तरालमा झन्डै आधा दर्जन तत्तत् विषयका कृतिहरू सार्वजनिक भइसकेका छन् । मूलरूपमा आफ्ना निजात्मक अनुभूति पस्किने मैनालीको निबन्ध लेखनमा रहेको सरलपनसहितको बौद्धिकता र सुललिताले पाठकलाई सम्मोहित गर्ने क्षमता राखेको पाइन्छ । 

तीसवटा निबन्धहरूको सङ्ग्रह प्रस्तुत कृति घाउ आफैँलाई दुख्छमा निबन्धकार आफू र उनले भोगेको परिवेशको सेरोफेरोमा अधिकांश निबन्धहरू सिर्जिएका छन् । घाउ आफैँलाई दुख्छ, अक्षर र म, संवेदना सकिएका हामी, जन्मभूमि तथा बिदाइजस्ता निबन्धमा स्रष्टाले भोगेका जीवनका अन्तर्यहरू प्रकट भएका छन् भने बिचरा निजामती, पदका मान्छे, राजनीति, अपहृत आस्था र निमोठिएका सपना आदि निबन्धमा आफ्नो पेसागत यात्राका असजिला र नसोचिएका निसृत पलहरूको चर्चा गरिएको छ । कतै विद्रूप राजनीतिको सिकार हुनुपर्दा पेसाकर्मीहरूको अन्तर्यमा परेको चोटको फेहरिस्त छ भने कतै हाम्रो संस्कृति र आधुनिकीकरणले पैदा गरेका अप्ठ्यारा र सजिला पलहरूलाई लिएर तिनले स्रष्टाको मनमा पैदा गरेका उच्छ्वासहरू पोखिएका छन् । यसरी मैनालीको निबन्धलेखनमा विविधताको प्रशस्त छनक पाउन सकिन्छ । विश्वमा युद्धको विभीषिकाले पैदा गरेका सन्त्रासलाई पनि कतै विषय बनाइएको छ भने सत्ता थरीथरीका जस्ता निबन्धमा दार्शनिक चिन्तनले पनि प्रवेश पाएको छ । शङ्कर लामिछानेबाट सुरु भएर तारानाथ शर्मा तथा कृष्णचन्द्र सिंह प्रधान आदिबाट विकास हुँदै आएको आधुनिक निबन्धको एउटा अलग धारको निबन्ध लेखनयात्रालाई मैनालीको प्रस्तुत सङ्ग्रहले थप फराकिलो पारेको छ भन्दा अत्युक्ति नहोला ।    

निबन्ध आफैँमा निजात्मक अनुभूतिको भावसञ्चार हो । त्यसैले प्रस्तुत कृतिमा पनि स्रष्टाको निजी जीवन, निजी भोगाइ, निजी पीडा र निजी परिवेशको बाहुल्य देखिन्छ । भोगाइले पैदा गरेका अनुभवहरूलाई प्रश्नका रूपमा पाठकमा छाड्ने शैलीलाई यहाँ स्रष्टाले अवलम्बन गरेका छन् । एक अर्थमा भन्दा समाधान निकाल्ने जिम्मा यहाँ पाठकलाई नै छाडेको पाइन्छ । आफ्ना सहमति वा असहमति जे होलान्, तिनलाई आफैँले पर्गेल्नुभन्दा कलात्मक रूपमा अनुत्तरित शैलीमा पाठकलाई छाड्ने लोभलाग्दो शैली मैनालीमा पाइन्छ । यसलाई उनको निजी विशेषता भन्न सकिन्छ । आत्मपरक, वस्तुपरक र नियात्रापरक तिनै किसिमका शैलीहरू यो कृतिमा पाइन्छन्, जसले थप विविधता पस्केका छन् । लेखक तथा कलाकारहरूप्रति उनको सम्मान निबन्धमा पनि भेटिन्छ र त्यसको आयतन नेपालभित्र मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलिएको छ । 

आफ्नो जन्मस्थान र आफ्नी आमालाई निबन्धकारले केन्द्रमा राखेर निबन्ध लेखेका छन् भने तिनको प्रतिच्छाया थुप्रै निबन्धहरूमा पाइन्छ । सार्थक कल्पना, मिहिन व्यङ्ग्य, कलात्मक अनुभूति र क्लिष्टताविहीन बौद्धिकतालाई आत्मसात गरी लेखिएका यी निबन्धहरूले एउटा पृथक् छाप छाड्न सकेका छन् । विषयवस्तुसित संवाद गर्दै उनको कलम दौडिएको पाइन्छ भने जीवनविविधाका सम्मिलनहरू कृतिमा यत्रतत्र पाइन्छन् । लेखनमा गन्थन नभएर आत्मकथ्यको प्रचुरता कृतिमा पाइन्छ । राजनीतिक हस्तक्षेपप्रतिको मिहिन असन्तुष्टि तथा राष्ट्रप्रेम आदिजस्ता विषयहरूलाई कलात्मक ढङ्गले उठाएर मैनालीले यो कृतिमार्फत आफूलाई सफल निबन्धकारका रूपमा उभ्याएका छन् । 

कृति  : घाउ आफैँलाई दुख्छ 

कृतिकार : गोपी मैनाली 

विधा  : निबन्ध सङ्ग्रह 

प्रकाशक  : सन्तोषी माता सञ्चार प्रालि काठमाडौँ 

पृष्ठ  : १९६

मूल्य : रु. ४००।– 

Author

कमल सुवेदी