• ७ जेठ २०८१, सोमबार

एकदिवसीय वरीयतामा नेपालको छलाङ, विश्वकप छनोटमा स्थान बनाउन युएईलाई हराउने चुनौती

blog

फाइल तस्बिर ।

काठमाडौं, चैत १ गते । आईसीसी विश्वकप लिग–२ को पछिल्ला खेलहरूमा सानदार नतिजा निकालेपछि नेपालले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा समेत उल्लेख्य सुधार गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल तीन स्थान सुधार गर्दै १६औँ स्थानमा उक्लिएको हो । नेपालले लिग–२ को पछिल्ला ११ खेलमा १० जित निकाल्दै एकदिवसीय मान्यता पनि जोगाएको छ ।

लिगको अन्तिम खेल नेपालले बिहीबार घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । यदि बिहीबार युएईलाई हराएमा नेपालले सोझै जिम्बाबेमा आयोजना हुने विश्वकप छनोटमा स्थान बनाउनेछ । त्यसैले नेपालका लागि बिहीबारको खेल गर या मरको अवस्थामा छ ।

युएईसँग पराजित भएमा नेपालको विश्वकप छनोट खेलको यात्रा ‘प्लेअफ’मा भर पर्नु पर्नेछ । नयाँ वरीयतामा नेपालले नामिबिया, युएई र पपुवा न्युगिनी (पीएनजी) र अमेरिकालाई पछि पारेको छ । 

नेपाल लिग–२ मा अहिले ३५ खेल खेल्दै ३८ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । ३५ खेल सकेको युएई ३३ अङ्कसहित छैटौँ र सबै  खेलबाट ११ अङ्क बनाको पीएनजी सातौँ तथा अन्तिममा छ । 

सात टोली सहभागी लिग–२ को शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा स्थान बनाउन बिहीबार युएईविरुद्धको अन्तिम खेल नेपालका लागि निकै चुनौतीपूर्ण छ । नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले युएईविरुद्ध अन्तिम खेलमा सक्दो मिहेनत गरेर खेल्ने बताउनुभएको छ । 

आईसीसीको नयाँ वरीयतामा नामिबिया १७औँ, अमेरिका १८औँ, युएई १९औँ र पीएनजी २०औँ स्थानमा छ । नयाँ वरीयताको शीर्षस्थानमा भारत रहेको छ ।

यस्तै अष्ट्रेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो, इङ्ल्यान्ड चौथो, पाकिस्तान पाँचौँ, दक्षिण अफ्रिका छैटौँ, बङ्गलादेश सातौँ, श्रीलङ्का आठौँ, अफगानिस्तान नवौँ र वेस्टइन्डिज १०औँ स्थानमा छ । यस्तै एसोसिएट टोली आयरल्यान्ड ११औँ, स्कटल्यान्ड १२औँ, जिम्बाबे १३औँ, नेदरल्यान्ड् १४औँ र ओमान १५औँ स्थानमा छ । 

आईसीसी लिग–२ खेलेका सात टोलीमध्ये सबै (३६) खेल सकेको स्कटल्यान्ड सिरिज च्याम्पियन बन्दै शीर्षस्थानमा छ । सबै खेल सकेको ओमानले ४४ अङ्कसहित दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा स्थान बनाई सकेको छ । ३९ अङ्क बनाएको नामिबिया तेस्रो स्थानमा छ । नेपालको लगातार जितले नामिबियालाई थप झस्काएको छ । 

३५ अङ्क बनाएको अमेरिका पाँचौँ स्थानमा झरेको छ । गत आइतबार नेपालले युएईलाई हराएपछि अमेरिका पाँचौँ स्थानमा झरेको हो । लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले सिधै एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछन् ।