• १३ साउन २०८१, आइतबार

हजार किलोमिटर हिँडेर दुई सय कोरियाली लुम्बिनीमा

blog

कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीको स्वागत समारोह। तस्बिर : कपिल ज्ञवाली।

कपिल ज्ञवाली

सिद्धार्थनगर,फागुन ३० गते। दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्री पैदलयात्रा गरेर मंगलबार लुम्बिनी आइपुगेका छन्। भारत हुँदै बुद्धजन्मस्थल लुम्बिनी आइपुगेका तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले बुद्धस्थलमा स्वागत गरेको छ। 

दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीको पैदलयात्री एक हजार किलोमिटर दुरी पैदल यात्रा गरेर लुम्बिनी आइपुगेका हुन्। भारतको कुशिनगर, शारनाथ र बोधगयाको भ्रमण गर्दै टोली बुद्धजन्मस्थल लुम्बिनी आइपुगेको हो। तीर्थयात्रीलाई लुम्बिनी विकास कोषले मंगलबार एक समारोह गरेर स्वागत गरेको छ। 

कोरियाका अग्रज बौद्ध भिक्षु छासुङ्ग सहितका १०५ जना धर्मगुरु र तीर्थयात्रीले मायादेवी मन्दिरको दर्शन गर्दै विश्व शान्तिको कामना गरेका छन्।   

कोषका उपाध्यक्ष भिक्षु मैत्तयले फागुन महिना भगवान गौतम बुद्धको जीवनमा निकै ठूलो महत्त्वको महिना भएको बताउँदै यही महिनामा बुद्धमार्गलाई पछ्याउँदै एक हजार किलोमिटर दुरी पूरा गरेर लुम्बिनी आइपुग्नु बौद्धमार्गीका लागि खुशीको क्षण भएको बताउनुभयो। 



उहाँले अग्रज भिक्षु सहितको तीर्थयात्रीको लुम्बिनी आगमनले दक्षिण कोरियासँग नेपालको आध्यामिक सम्बन्ध अझै मजबुद बनेको बताउनुभयो। नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकले धर्मगुरु सहितका तीर्थयात्रीलाई बुद्धजन्मस्थल मायोदवी प्राङ्गणमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो। 

पछिल्लो समय बौद्ध देशबाट बौद्धधर्मगुरु र तीर्थयात्रीको ठूलो–ठूलो समूह बुद्ध जन्मस्थल लुम्बिनी आउनेक्रम बढेको छ। यसले कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई ऊर्जा थपेको कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिनुभयो। 

उक्त अवसरम लुम्बिनी सांस्कृतिक नगरपालिका नगर प्रमुख सजरुद्धिन मुसलमान, कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कोषका कार्यकारिणी सदस्य विश्वराज पौडेल लगायतको उपस्थिति थियो। 

फेब्रअरी ९ तारिखदेखि भारतको नयाँ दिल्लीबाट पैदल हिँडेर तीर्थयात्रा सुरु भएको थियो।  कोरियाली टोली बुधबार बिहान भारततर्फ पैदल फर्कनेछ।  

प्रार्थनापूजा कार्यक्रममा प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लामो यात्रा गरेर बुद्धजन्मस्थल लुम्बिनी आएका बौद्ध भिक्षु सहितको टोलीलाई स्वागत गर्दै नेपाल र दक्षिण कोरियाविचको सम्बन्ध थप प्रगाढ बनेको बताउनुभयो ।