• १३ साउन २०८१, आइतबार

पालमा बस्न बाध्य पीडितका लागि घर पुनः निर्माण हुने

blog

गत असोज महिनाको तेस्रो सातामा बालैबजारमा बाढी पहिरोले बगाएको बजार । तस्बिर – हरिकृष्ण ऐडी

हरिकृष्ण ऐडी

मुगु, फागुन ३० गते । पाँच महिनासम्म बाढी पहिरोले विस्थापितकाे व्यवस्थापन नहुँदा पालमा बस्न बाध्य भएका छन् । सरकारको निर्णयअनुसार कर्णालीका मुगुलगायतका जिल्ला बाढी पहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा गरे तापनि बाढी पीडितसम्म राहत रकम आइनपुगेकाले समस्यामा परेका हुन् ।

बाढी पहिरोले जिल्लाको छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकाका एक हजार ३०० घर पूर्ण तथा आंशिक रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा छ । जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी खड्कबहादुर रोकायाले सङ्घीय सरकारको निर्णयअनुसार मुगु जिल्लालाई पनि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको र अहिले तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो ।

छायाँनाथ रारा नगरपालिका नगरप्रमुख विष्णुकुमार भामले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौंको पत्राचार अनुसार पत्राचार भएको मितिमै नगरका बासिन्दाको सहजताका लागि नगरपालिकाले माघ महिनादेखि नै सम्बन्धित वडामा गई लगत सङ्कलन गरिरहेको बताउनुभयो ।‘बाढी पहिरो पीडितलाई चालू आर्थिक वर्षको मसान्तसम्म घर पुनः निर्माणकार्य शुरू हुनेछ’ उहाँले भन्नुभयो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौंको कार्यतालिका अनुसार सम्बन्धित पालिकाका प्राविधिकको अनलाइन रेकर्डको मूल्यांकन र कार्यान्वयनमा लागू हुने भएकाले सम्बन्धित पालिकालाई तथ्याङ्क पठाइदिन पत्राचार गरिएको उहाँको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिकाकी प्राविधिक सुस्मिता रावलले छायाँनाथ रारा नगरपालिकाको १४ वडामा एक साताभित्र लगत सङ्कलन गरिसक्ने बताउनुभयोे । ‘एक हप्ताभित्र तथ्याङ्क आउँछ, अहिले नगरपालिकाका प्राविधिकहरु सम्बन्धित वडामा लगत सङ्कलनका लागि लागिपरेका छन् ।’ उहाँले भन्नुभयो ।

राष्ट्रिय विपत् जोखिम तथा व्यवस्थापन प्राधिकरणको निर्देशिका अनुसार बाढी पहिरोमा परेका घरधनीको अनलाइन फमको रेकर्ड अनुसार दुईवटा घर देखिएमा सो सुविधाबाट वञ्चित हुनेछ ।