• २३ फागुन २०८२, शनिबार

पूर्वमन्त्री आलेलाई फापेन कैलाली

blog

पूर्वमन्त्री प्रेमबहादुर आले ।

अविनाश चौधरी

धनगढी, फागुन २३ गते । पूर्वमन्त्री प्रेम आले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा पराजित हुनु भएको छ । कैलाली क्षेत्र ५ मा उहाँ पराजित हुँदै तेस्रो स्थानमा खुम्चिनु भएको हो । 

नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचन लड्नु भएका आलेले सात हजार ८७६ मतका साथ तेस्रो स्थान प्राप्त गर्नुभयो । उहाँको धरौटी भने जोगिएको छ । कुल ६२ हजार १४७ मत सदर भएको क्षेत्र ५ मा उम्मेदवारले जमानत जोगाउन कम्तीमा ६ हजार २१ मत प्राप्त गर्नुपर्ने थियो । 

यसअघि संघीय सरकारको मन्त्री भइ सक्नुभएका आलेले डोटीबाट दुई पटक चुनाव जित्नु भएको थियो । यस पटक कैलालीबाट चुनाव लड्नु भएको आलेको पक्षमा सोचेजस्तो नतिजा आएन । 

यसैगरी, कैलालीमै चुनाव लडिरहनू भएका दुई पूर्वमन्त्री निकै पछि पर्नुभएको छ । क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार पूर्वमन्त्री गौरीशङ्कर चौधरी हालसम्मको मत परिणामअनुसार चौथो स्थानमा देखिनु भएको छ । क्षेत्र नम्बर ४ मा पूर्वमन्त्री लेखराज भट्ट पनि हालसम्म चार हजार ७२१ मतका साथ तेस्रो स्थानमा रहनुभएको छ ।