लक्ष्मण पौडेल
भैरहवा, फागुन २३ गते । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत रुपन्देही क्षेत्र नम्बर-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी हुनुभएको छ ।
पहिलो पटक निर्वाचन लड्नुभएका ३५ वर्षीय युवा नेता लम्सालले ५४ हजार ८४५ मत प्राप्त गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गर्नुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिराबहादुर खत्रीले ११ हजार ९८२ मत प्राप्त गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रज्ज्वल बोहराले ८ हजार ३०१ मत पाउनुभयो भने नेकपा एमालेका दधिराम न्यौपाने ७ हजार ४८८ मतसहित चौथो स्थानमा रहनुभयो ।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका घनश्याम यादवले दुई हजार १९८, श्रम संस्कृतिका छविलाल गुरुङले एक हजार ८२४ र जनता समाजवादी पार्टीका मोहम्मद अस्लाम खानले एक हजार २४२ मत प्राप्त गर्नुभयो । अन्य कुनै पनि उम्मेदवारले एक हजार मत कटाउन सकेनन् ।
कुल ३१ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा कांग्रेसका खत्रीबाहेक अन्य सबै उम्मेदवारको जमानत जफत भएको छ । लम्सालले जित हासिल गर्दै यस क्षेत्रका अघिल्ला निर्वाचनका विभिन्न रेकर्डसमेत तोड्नुभएको छ ।
२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले नेता छविलाल विश्वकर्माले प्राप्त गरेको ३४ हजार ७५२ मतको रेकर्ड लम्सालले पार गर्नुभएको हो ।
त्यसैगरी मतान्तरमा पनि उहाँले नयाँ इतिहास बनाउनुभएको छ । यसअघि सात हजार ८६७ मतान्तरको रेकर्ड रहेकोमा लम्सालले ४२ हजार ८६३ को फराकिलो मतान्तर कायम गर्नुभएको छ ।