• १५ असार २०८१, शनिबार

देशका विभिन्न स्थानमा सडक दुर्घटनामा चारकाे मृत्यु

blog

काठमाडौं, फागुन ३० गते । दक्षिणकाली नगरपालिका –२ ग्वालदहस्थित सडकमा बागमती प्रदेश ०१ –००३ क ८६९० नम्बरको गाडीको ठक्करबाट नुवाकोट बेल्कोटगढी नगरपालिका–१ घर भएका २४ वर्षीय सन्दीप तामाङको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिसिटी अस्पताल भैंसेपाटी ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, पर्सा, पटेर्वासुगौली गाउँपालिका ४ स्थित सडकमा मे १ त ४८१७ नम्बरको ट्याक्टरको ठक्करबाट साइकलयात्री धोवनी गाउँपालिका ३ गुलरिया बस्ने ७२ वर्षीया महेसिया देवीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको वीरगञ्ज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उता, धनकुटा, महालक्ष्मी नगरपालिका ४ सिध्दथानस्थित सडकमा को २ त ७३६ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सङ्खुवासभा मादी नगरपालिका ९ बस्ने ३० वर्षीय गुणन विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ ।  

सुनसरी, इटहरी उपमहानगरपालिका २० पानिपियास्थित सडकमा ना ६ ख १७२४ नम्बरको ट्रकले बा ९४ प ७१६० मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार धरान उपमहानगरपालिका १५ बस्ने २४ वर्षीया जेनिशा राईको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।  हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।