• १३ साउन २०८१, आइतबार

महिला चलचित्र प्रदर्शित

blog

काठमाडौँ, फागुन ३० गते । किपालय प्रडक्सनले प्लान इन्टरनेसनलको गल्र्स गेट इक्वल अभियानसँग मिलेर शुक्रबार एकदिने महिलाकेन्द्रित चलचित्र महोत्सव आयोजना गरेको छ । 

‘वुमन मेक फिल्म फेस्ट’ शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न महोत्सवमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका चलचित्र देखाइएको थियो । महोत्सवमा सर्ट तथा डकुमेन्ट्री विधामा निर्माण भएका १५ वटा चलचित्र देखाइएको किपालय प्रडक्सनले जनाएको छ । 

महोत्सवमा समावेश चलचित्र तीन चरणमा प्रदर्शन गरिएको थियो । पहिलो चरणमा पाँच चलचित्र देखाइएको थियो; जसमा कल्पना बम र प्रतिभा पन्त निर्देशित ‘दी जर्नी अफ इनोसेन्स’, मीरा खड्का र अस्मिता लावती निर्देशित ‘वन रुपी’, श्रीषा कुँवर र एन्जिला चौधरी निर्देशित ‘मेरो बुवा’, डिम्पल राजथला र भावना अधिकारी निर्देशित ‘खुल्ला आकाश’ तथा पुष्पा जोशी र सपना बेलबासे निर्देशित ‘भेइल्ड’ प्रदर्शन गरिएको थियो । 

दोस्रो चरणमा चार चलचित्र देखाइएको थियो । पिङ्की श्रीष राना र एलएसएम निर्देशित ‘हजुर’, शुभाङ्गी खड्का निर्देशित ‘मदर्स स्कुल’, शर्मिला आले निर्देशित ‘साउन्ड अफ ब्याङ्गल’, मुना बीके र सरला सुनुवार निर्देशित ‘आन्टीको गाउँ’ प्रदर्शन भएका थिए ।  

अनु रावत र सम्झना चौधरीको निर्देशन रहेको ‘ह्युमन ट्राफिकिङ’; हेमा सुनार, गोविन्द राना र टीकाराम विकको निर्देशन रहेको ‘मेन्टल हेल्थ’, न्यान्सी शाह र पूजा परियारको निर्देशन रहेको ‘चाइल्ड म्यारिज’, सुरज गुरुङ र चेतना केसीको निर्देशन रहेको ‘एम आई गुड इनफ’, अञ्जली घर्तीमगरको ‘एउटा कथा’ र तृषा ढकालको ‘डियर डायरी’ अन्तिम स्लटमा देखाइएको थियो ।

महोत्सवमा फिल्म कलेजका विद्यार्थीसँगै दुई सयभन्दा बढी दर्शकको सहभागिता थियो ।