• २५ पुस २०८१, बिहिबार

जितले बलियो टोलीसँग खेल्ने मौका : कप्तान रोहित

blog

कप्तान रोहित पौडेल । तस्बिर : क्यान

काठमाडौं, फागुन २८ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्त अरब इमिरेट्स (युएई) सँगको जितसँगै  एकदिवसीय मान्यता जोगिएपछि आगामी दिनमा बलियो टोलीसँग थप क्रिकेट खेल्ने मौका मिलेको बताउनुभएको छ । 

भ्रमणकारी टोली युएईविरुद्ध आइतबार एक सय ७७ रनको फराकिलो जित निकालेपछिको पत्रकार सम्मेलनमा बोल्दै कप्तान रोहितले एक दिवसीय मान्यतापछि नेपालले बलियो टोलीसँग खेल्दै थप अनुभव बटुल्ने मौका मिल्ने बताउनुभएको हो ।

उहाँले विश्वकप छनोट पुग्नका लागि थप दुई खेलमा सुखद नतिजा निकै महत्त्वपूर्ण रहेको भन्दै दुवै खेलमा जितका लागि केन्द्रित हुने प्रतिक्रिया दिनुभयो । टोलीमा नयाँ प्रशिक्षक मोन्टी देशाई आएसँगै खेलाडीलाई खुलेर खेल्ने अवसर भएको सोही अनुसार सबै खेलाडीले मिहिनेतका साथ खेल्दा सफलता मिलेको कप्तान रोहितले बताउनु भयो ।

एक दिवसीय मान्यता कायम भएसँगै नेपाली क्रिकेट थप व्यस्त हुने र धेरै भन्दा धेरै खेलाडीले मौका पाउने बताउनुभयो । यस्तै नेपाली टोलीका प्रशिक्षक मोन्टी देशाईले नेपाल क्रिकेट सङ्घसँग जोडिएको दिनदेखि टोली बनाउन लागेको र अहिले सम्मको यात्रा सुखद भएकोमा 

खुसी व्यक्त गर्नुभयो । आफ्नो रणनीति हरेक खेलमा सफल हुने गरेको र खेलाडीलाई दिइएको भूमिकालाई खेलाडीलाई राम्रोसँग निभ्याएको बताउनुभयो ।

खेलअघि केही कठिन निर्णयहरू गर्नुपरेको र रणनीति बनाउँदा आफू सफल भएको पनि उहाँले बताउनुभयो । यसैगरी युएईविरुद्ध सर्वाधिक पाँच विकेट निकालेका स्पिनर ललितनारायण राजवंशीले जितको सदस्य बन्दा खुसी लागेको प्रतिक्रिया दिनुभयो । उहाँले आफू टिम बाहिर रहेपनि टोलीको जितमा निकै खुसी भएको र टिम पर्नैपर्ने आकंक्षा आफूमा नभएको बताउनुभयो ।

एक दिवसीय मान्यता जोगिएसँगै नयाँ खेलाडीले अवसर पाउने र नेपालले अन्य बलिया टोलीसँग अनुभव बटुल्ने अवसर मिल्ने बताउनुभयो । यस्तै गुल्सन झाले पनि प्रशिक्षकले दिलाएको भूमिकामा न्याय दिन सकेको खुसी व्यक्त गर्नुभयो ।

लिग–२ अन्तर्गत नेपालले अब दुई खेल खेल्न बाँकी छ । यसै अन्तर्गत नेपालले सोमबार अर्को भ्रमणकारकी टोली पपुवा न्युगिनी (पिएनजी)सँग खेल्नेछ । नेपाल अन्तिम खेल चैत २ गते पुनः युएईसँग खेल्नेछ ।